ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण

48
Shares

काठमाडौँ, ३१ असोज । ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उनले बताए ।

गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो ।

चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा चार र मोलुङ गाउँपालिकामा दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी पोखरेलले बताए ।

चालु आव २०८२/८३ मा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई जना तथा सुनकोशी गाउँपालिकाका एक जनामा क्षयरोग सङ्क्रमण देखिएको छ ।

नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् ।

स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ ।

पछिल्लो समय कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सूचना अधिकारी पोखरेलले बताए ।

जिल्लाभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सचेतना र जाँच तथा उपचार सेवाको पहल गर्न स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *