आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं, ३० असोज। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा। विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।
अहिले स्वास्थ्य मन्त्रीको कार्यभार प्रधानमन्त्री आफैसंग राखेकी छन् ।
सचिव डा देवकोटालाई नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे आफूलाई जानकारी गराउन समेत निर्देशन दिएकी छन् ।
देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरूको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताइन् ।
स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू एक साता देखि आन्दोलनमा छन् । उनीहरुले गत २७ मंसिरको मन्त्रिस्तरीय निर्णय अनुसार सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक सरकारी सरह (स्टाफ नर्स पाँचौँं) को ३४ हजार ७३० हुनु पर्ने माग गर्दै आएका छन् ।
नर्सहरुको मागको विषयमा निजी मेडिकल कलेज सञ्चालकहरुले तत्काल पुरा गर्न नसकिने प्रतिक्रिया दिएका छन् । तर नेपाल नर्सिङ संघले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् । उनीहरुले तत्काल मागको सम्वोधन नगरे नर्सहरु देशव्यापीरुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले केही दिन अघि सरकारी सरह तलव बढाउनु भन्दै निजी स्वास्थ्य संस्थाका नाममा पत्राचार गरेको थियो । तर, मन्त्रालयको नेतृत्वले आफ्नै निर्देशनको कार्यान्वयनमा चासो नदिएको भन्दै आलोचना सुरु भएको छ ।
सम्पर्क इमेल : [email protected]