स्नायु शल्य चिकित्सालाई थप प्रभाकारी बनाउन न्युरो अस्पताल बाँसबारीले थप्यो अत्याधुनिक उपकरण

28
Shares

काठमाडौँ, ३० असोज । स्नायु सम्वन्धी रोगको उपचारमा सहजता ल्याउन बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल)ले अत्याधुनिक उपकरणहरू थप गरेको छ ।

स्नायु विज्ञानमा विकसित प्राविधिक प्रगतिअनुरूप स्नायु शल्यक्रियालाई सुरक्षित, न्यून जोखिमयुक्त, सहज र विश्वस्तरीय बनाउन विश्व बजारका नविनतम प्रविधि र उपकरणहरू भित्र्याएको अस्पतालले जनाएको छ ।

थपिएका नयाँ उपकरणबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षित देवकोटाले स्नायु शल्यचिकित्सा सेवालाई थप प्रभावकारी, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री बनाउन अत्याधुनिक मेसिन उपकरणहरु भित्र्याइएको बताईन् । सो अवसरमा उनले नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका पिता प्रा डा उपेन्द्र देवकोटाको स्नायु विज्ञान विधाप्रतिको निष्ठा, त्यसको विकासप्रतिको प्रतिबद्धता तथा देशप्रतिको समर्पणको प्रतीकका रूपमा १९ वर्षअघि स्थापित न्युरो अस्पताल, बाँसबारीले अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न स्नायु अस्पतालका रूपमा अत्याधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मी सहित सेवा दिइरहेको समेत उल्लेख गरिन् ।

‘हामीले पछिल्लो पटक छ वटा नयाँ अत्याधुनिक मेसिन तथा उपकरणहरु भित्र्याएका छौँ । त्यसका लागि अस्पतालले २५ करोड लगानी थप गरेको छ । भित्रिएका कतिपय प्रविधि तथा उपकरण नेपालकै पहिलो समेत छन् । यसले उपचारलाई भरपर्दो, सुरक्षित र सहजता हुनेछ,’ उनले भनिन् ।

सो अवसरमा अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. निकुञ्ज योगी, न्युरो सर्जन डा. सुरज थुलुङ, डा। सागर कोइराला, न्युरोलोजिस्ट डा. घनश्याम खरेल र एनेस्थेसियोलोजिस्ट डा. रुपेश राजभण्डारीलगायतले नयाँ उपकरण तथा प्रविधिबारे जानकारी दिएका थिए। कार्यक्रमको सञ्चालन अस्पतालका सिईओ मिलन गुरुङले गरेका थिए।

के के थपिए नयाँ मेसिन तथा प्रविधिहरू ?

न्युरो नेभिगेसन सिस्टम (स्टेल्थ–८)

स्टेल्थ–८ न्युरो नेभिगेसन सिस्टम अत्याधुनिक प्रविधि हो, जसले दिमाग वा मेरुदण्डको हूबहू चित्रण गरी भित्रका संवेदनशील भागहरूको मापनयोग्य विवरण प्रदान गर्छ। यसले मस्तिष्क र मेरुदण्डको शल्यक्रियामा रोग लागेको भागलाई मात्र लक्षित गरी निकाल्न मद्दत गर्छ, जसले जोखिम न्यून बनाउँछ। यो प्रणाली पार्किन्सन, मिर्गी तथा चाल सम्बन्धी रोगहरूको उपचारका लागि डिप ब्रेन स्टिमुलेशन (डिबिएस) वा लिजनिङ शल्यक्रिया गर्न उपयोगी हुन्छ।

रोबोटिक माइक्रोस्कोप (केनोभो ९००)

अस्पतालमा सेवा विस्तारसँगै थपिएको यो नयाँ माइक्रोस्कोप न्युरोसर्जनको “सहायक हात” हो। यसले थ्रीडी इमेज प्रदान गर्ने भएकाले मस्तिष्क र मेरुदण्डको सूक्ष्म भाग स्पष्ट देखिन्छ। रोबोटिक गतिशीलता भएकाले यो माइक्रोस्कोपले अपरेशन स्थलसँगै सटीक रूपमा चल्ने सुविधा दिन्छ। यसले लामो र जटिल शल्यक्रिया सहज बनाउँछ र एकै दिन धेरै बिरामीको अपरेशन गर्न सम्भव बनाउँछ।

ओ–आर्म मेशिन

यो प्रविधि मेरुदण्डको हड्डीमा शल्यक्रिया गर्दा प्रयोग गरिन्छ। यसले अपरेशनको स्थान सटीक निर्धारण गर्न मद्दत गर्छ। स्टेल्थ–८ सँग संयोजन गरी प्रयोग गर्दा डिप ब्रेन स्टिमुलेशन (डिबिएस) र लिजनिङ शल्यक्रिया सहज रूपमा गर्न सकिन्छ, जसले पार्किन्सन र चालसम्बन्धी रोगको उपचारमा सहयोग पुर्‍याउँछ।यसले सहि स्थानमा अप्रेसन गर्न सजिलो बनाउँछ ।

इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङ

यो प्रविधिले अपरेशनको क्रममा मस्तिष्क, मेरुदण्ड र नसाबाट निस्कने स्नायु–तरङ्गहरू मापन गर्छ। यसले शल्यक्रियाका बेला स्नायु प्रणालीको कार्यस्थितिलाई निगरानी गर्न सकिने भएकाले बिरामीको सुरक्षा अभिवृद्धि गर्छ। हातखुट्टाको चाल, स्पर्श अनुभव र बोलीसम्बन्धी मस्तिष्क केन्द्रहरूको गतिविधि पनि यसले निगरानी गर्न सक्छ।

नेटस १२८ च्यानल ईईजी मेशिन

नेपालमै पहिलो १२८ च्यानलको यो ईईजी मेशिनले इपिलेप्सी ९छारे रोग० सम्बन्धी शल्यक्रिया अघि मस्तिष्कको कुन भागबाट रोग उत्पन्न भएको हो भन्ने पहिचान गर्न सहयोग गर्छ। बालबालिकामा देखिने कन्जेनिटल सिजर डिसअर्डर वा अनिर्णित बेहोस हुने अवस्थाको पहिचानका लागि पनि यसले प्रयोग गर्न सकिन्छ।

ईनोमेड आरएफ मेशिन

रेडियो फ्रीक्वेन्सी मेशिनले न्युरोसर्जरीमा पार्किन्सन डिजिज, मुभमेन्ट डिसअर्डर र ट्राइजेमिनल न्युराल्जियाजस्ता रोगमा शल्यक्रिया नगरीकनै उपचार गर्न मद्दत गर्छ। यसले पेन मेडिसिन क्षेत्रमा पनि विभिन्न प्रकारका दीर्घ दुखाइ रोगको उपचारमा प्रयोग गर्न सकिन्छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *