के भएको थियो राष्ट्रपति पौडेललाई ?

96
Shares

काठमाडौँ, २६ असोज । अस्पतालमा चौबिस घण्टा अब्जरबेसनमा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् । हिजो अर्थात शनिबार विहान देखि अचानक चक्कर लाग्ने र बान्ता हुन थालेपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।

‘पहिले पनि मुटुको समस्या भएर ल्याइएको र उपचार समेत गरिएको हो । अहिले पनि बान्ता हुने र चक्कर लाग्ने भएपछि यहाँ ल्याउनु भएको थियो । सबै अवस्था सामान्य पाएपछि हामीले आज डिस्चार्ज गरेका हौँ,’ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा रत्नमणि गजुरेलले नेपाली हेल्थसंग भने । उनले केहीबेरमा राष्ट्रपतिको उपचारबारे प्रेस विज्ञप्ती जारी गर्ने समेत बताए ।

तर स्रोतले राष्ट्रपतिलाई यसपटक मुटुको भन्दा पनि कानको भित्रि भागमा देखिने एक खाले समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो (बीपीपीभी)’ भएको बताएको छ ।

‘शनिबार विहान चक्कर लाग्यो, अनि तीन पटक जस्तो बान्ता पनि भयो । त्यसपछि अस्पताल ल्याउनु भएको हो । सुरुमा त्रिवि शिक्षण अस्पताल नै लगिएको हो । तर त्यहाँ भिभिआईपी क्याविन खाली नभएपछि संगैको मनमोहन सेन्टरको क्याविन प्रयोग भएको हो । ‘मनमोहनमा लगेपछि मुटु, छातीको जाँच त हुने नै भयो तर खास समस्या बीपीपीभी हो । यो समस्यामा अचानक चक्कर लाग्ने बान्ता हुने जस्ता लक्षणहरु देखिन्छन्,’ शिक्षण अस्पताल स्रोतले भन्यो ।

मनमोहनमा भर्ना भए पनि राष्ट्रपतिको उपचारका लागि त्रिवि शिक्षण अस्पताल नाककान घाँटी (इएनटी) रोग विभागका चिकित्सकहरु बढी खटिएका थिए । उनीहरुकै डाइग्नोसिस र उपचार पछि भएको र विहान साढे १० बजे नर्मल अवस्थामा डिस्चार्ज भएको अस्पताल स्रोतले जानकारी दियो ।

शनिबार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित सरकारी टोली र जेनजी प्रतिनिधिसंग छलफल गर्ने योजना बनाएका थिए । तर एक्कासी स्वास्थ्य प्रतिकुल भएपछि उनी अस्पताल गए भने राष्ट्रपतिसंगको जेन जी छलफल सोमबारका लागि सारिएको छ । शनिबार शितल निवासमा पुगेका जेनजीसंग प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिमण्डलका अरु सदस्यहरुले अनौपचारिक छलफल गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *