वीर अस्पतालमा काम गर्ने करार सेवाका कर्मचारीले पनि पाउने भए दशैं भत्ता र महंगी भत्ता

जेनजी प्रतिनिधिले 'बहानावाजी चल्दैन निर्णय गरि हाल्नुस् भनेपछि ....'
148
Shares

काठमाडौँ, ११ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा काम गर्ने करार सेवाका कर्मचारीले अब दशै भत्ता र महंगी भत्ता पाउने भएका छन् ।

गत मंगलबार आकस्मिक रुपमा बसेको न्याम्स कार्यकारी परिषद्को बैठकले करार सेवाका कर्मचारीहरुलाई दशैं भत्ता र महंगी भत्ता दिने निर्णय गरेको हो ।

वीर अस्पतालका करारका कर्मचारीहरुले आफूहरु काममा धेरै खटिए पनि सेवा सुविधामा धेरै नै विभेद हुने गरेको भन्दै गुनासो गर्दै आएका थिए । पछिल्लो पटक जेनजी आन्दोलनले सत्ता नै उलटफेर भएपछि करारका कर्मचारीहरुले यो मुद्धालाई जेनजी अगुवा समक्ष पुर्‍याएर झन् चर्काएका थिए ।

‘गत सोमबार, मंगलबार करारका कर्मचारी, जेनजी अगुवाहरुसंग सेवा सुविधा थप गर्ने विषयमा धेरै चरणमा छलफल भयो र हामी निस्कर्षमा पुगेका छौँ कि करारका कर्मचारीले पनि दशैं भत्ता र महंगी भत्ता पाउनु हुनेछ,’ न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले भने ।

उनले महंगी भत्ता दिने सन्र्दभमा अघिल्लो कार्यकारी समितिको बैठकले निर्णय गरिसकेको भए पनि पछिल्लो पटक कर्मचारी र जेनजी प्रतिनिधिहरुबीच भएको छलफल पछि पुन: निर्णय गरिएको बताए ।

‘करार ६ महिनाको हुन्थ्यो । त्यसैले दशै भत्ता दिने अवस्था थिएन । तर यसपटक छलफलमा अवधी बढाएरै भए पनि दशैं भत्ता दिनु पर्छ भन्ने कुरा उठ्यो । हामीले पनि सोही अनुसार मिलायौँ,’ उपकुलपति प्राडा बस्नेतले थपे ।

वीरमा अहिले करार सेवाका २०० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीहरु रहेको अनुमान छ ।

जेनजी प्रतिनिधिले भने ‘बहानावाजी चल्दैन निर्णय गरि हाल्नुस्….’

जेनजी आन्दोलन पछिका दुई साता देश शान्त  देखिए पनि न्याम्सका पदाधिकारीहरुलाई गत सोमबार र मंगलबार निकै अफ्टेरो परेको थियो ।

वीर अस्पतालमा करारका जेनजी कर्मचारीहरुले सुविधा थप्न माग गर्दै पदाधिकारीहरुको ध्यानाकर्षण गराईरहँदा जेनजीको अगुवा भनिएका सुदन गुरुङ र अनिल बानियाको छुट्टा छुट्टै टोली पुगेर पदाधिकारीमाथि चर्को दवाव सिर्जना गरेको थियो ।

उनीहरुकै माग र दवाव अनुसार न्याम्सले मंगलबार कार्यकारी परिषद्को बैठक डाकेर उनीहरुले भने अनुसारको माग पुरा गरेको हो ।

बैठकमा सहभागी एक पदाधिकारी भन्छन्, ‘जेनजीको चर्को दवाव आयो, यहाँ वीरमा पनि जेनजी कर्मचारीको नाममा संगठित कर्मचारीहरुले धेरै नै दवाव दिए । पदाधिकारीहरु त के गर्ने गर्ने भन्ने अवस्थामा पुगेका थिए । तर अन्तिममा जेनजीको माग अनुसार निर्णय गर्न बाध्य भए ।’

उपकुलपति प्राडा बस्नेतले भने नयाँ परिवेशमा केही नयाँ होस ईच्छा अनुसार जेनजी प्रतिनिधिहरुले मागहरु राखेको र त्यसलाई सकेसम्म पुरा गरिएको बताए । उनले अस्पतालको सेवा सुधारका लागि धेरै सुझाव आएको बताए ।

जेनजी अगुवा गुरुङले विरामीमाथि गरिने व्यवहारलाई सुधार्न, सेवालाई चुस्त राख्न चिकित्सक स्वास्थ्यकर्मीहरुको बोली व्यवहार र आचरण सुधार हुनुपर्ने बताएका थिए । उनले कोभिडका बेला थुपारिएका मेसिन तथा अन्य सामग्रीहरु कहाँ छन् कसरी प्रयोग भएका छन् भनेर समेत बुझेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *