संसारमा एक अर्ब ४० करोड मानिसहरु उच्च रक्तचापबाट पिडीत !
काठमाडौँ, ८ असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही दिन अघि सार्वजनिक विश्वव्यापी तथ्यांकले सन् २०२४ मा उच्च रक्तचापबाट पीडित हुने व्यक्तिको संख्या १ अर्व ४० करोड बढी भएको उल्लेख गरेको छ ।
उच्च रक्तचापको संख्या जति बढी छ त्यो भन्दा निकै थोरैले आश्वयक पर्ने औषधीको प्रयोग गरेको समेत उल्लेख गरेको छ । हो, डब्लुएचओको पछिल्लो प्रतिवेदनले हरेक पाँच पीडित मध्ये एक जनाले मात्रै औषधी वा परिमार्जनयोग्य स्वास्थ्य जोखिमका गतिविधि अपनाई यसलाई नियन्त्रण राखेको बताएको छ ।
संयुक्त राष्ट्र संघको ८० औँ महासभाको समयमा सह आयोजकको रुपमा रहेका डब्लुएचओ, ब्लुम्बर्ग फिलान्थ्रोपिक र रिसल्भ टू सेभ लाइभ्सले एक कार्यक्रम गरी नयाँ प्रतिवेदन जारी गरेका हुन् । जसमा न्युन आय भएका २८ प्रतिशत देशहरुमा मात्रै डब्लुएचओले सिफारिस गरेका सबै उच्च रक्तचापका औषधहिरु फार्मेसी वा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपलव्ध गरेको उल्लेख छ ।
हृदयघात, मस्तिष्क घात, दीर्घकालीन मिर्गौला रोग र डिमेन्सियाको एक प्रमुख कारक मानिएको उच्च रक्तचापलाई रोकथाम गर्न सकिने समस्याको रुपमा लिईन्छ । प्रतिवेदनमा भनिएको छ, तर यसमा ध्यान नदिएका कारण, आवश्यक कदम नचालेका कारण लाखौँ मानिसहरुको अकालमा ज्यान जाने अवस्था आउने छ र आइरहेको पनि छ । देशहरुले बढ्दो आर्थिक क्षतिको सामना गर्नेछन् ।
प्रतिवेदनमा सन् २०११ देखि २०२५ सम्मउच्च रक्तचाप सहितका मुटु रोगहरुले कम तथा मध्यम आय भएका देशहरुलाई लगभग ३.७ ट्रिलियन (३७ खर्ब) अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ । जो उनीहरुको कुल ग्राहस्त उत्पादनको लगभग २ प्रतिशत बराबर हो ।
‘उच्च रक्तचाप रोक्न सकिने समस्या हो तर विश्वभर हरेक घण्टामा उच्च रक्तचापकै कारणले मस्तिष्कघात र हृदयघात भई एक हजार बढी व्यक्तिको ज्यान गइरहेको छ,’ डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले भने । उनले अगाडी थपे, ‘देशहरुसंग यो अवस्था परिवर्तन गर्ने उपकरणहरु पनि छन् । राजनीतिक ईच्छाशक्ति, निरन्तर लगानी र स्वास्थ्य सेवाहरुमा उच्च रक्तचाप नियन्त्रणलाई सम्मिलिन गर्न सकेमा हामीले लाखौलाई बचाउन पनि सक्छौँ । युनिभर्सल हेल्थ कभरेज सुनिश्चित गर्न सक्छौँ ।’
सम्पर्क इमेल : [email protected]