निर्णय गर्न पठाइएका पुराना फाइल मन्त्रालयमा जलेपछि नयाँ पठाउँदै स्वास्थ्य सेवा विभाग
काठमाडौँ, ५ असोज । यतिवेला विपन्न नागरिक उपचारको रकम निकासा देखि विभागले गर्नै पर्ने नियमित खरीद प्रक्रिया अघि बढाउने लगायतका धेरै कामहरु रोकिएका छन् ।
जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगलागी हुँदा सम्पूर्ण कागजात तथा फाइल जलेर नष्ट भएपछि यी कामहरु अघि बढ्न नसकेका हुन् ।
स्वास्थ्य सेवा विभागले यतिवेला महत्वपूर्ण कामका फाइलहरु खोजेर पुन मन्त्रालयमा पठाउने तयारी गरेको छ ।
‘धेरै महत्वपूर्ण र अत्यावश्यक काममा निर्णय गर्नु पर्ने थियो । हामीले मन्त्रालयमा ती कामका फाइलहरु पठाएका थियौँ तर जलेर नष्ट भयो । अहिले पुन त्यसका कपी फाइलहरु तयार गरेर पठाउँदै छोँ । त्यसबाहेक मन्त्रालयलाई चाहिने अरु फाइलहरु पनि खोजेर पठाउँदै छौँ,’ विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले भने ।
गत २४ भदौमा आगलागी हुँदा मन्त्रालयको मुल भवन जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । अब सो भवन प्रयोगमा समेत ल्याउन नसिकने प्राविधिकहरुले बताईकसेका छन् ।
स्वास्थ्य सचिव डा. विकास देवकोटा मन्त्रालयलाई सिंहदरबार परिसरमा लैजानुको विकल्प नभएको भन्दै त्यसका लागि आवश्यक पहल भईरहेको बताउँछन् । संसदका धेरै भवनहरु निर्माण सम्पन्न हुने क्रममा रहेका बेला पुराना तथा अहिलेको आगलागीमा कम क्षति भएका केही भवनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राख्न सकिने तर्क उनको छ ।
मन्त्रालय भने अहिले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको भवनमा ‘आश्रय’ लिएर बसिरहेको छ ।
सम्पर्क इमेल : [email protected]