पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मीको स्वास्थ्यमा सुधार
काठमाडौं, ४ असोज । जेनजी आन्दोलनले विध्वंशात्मक रुप लिँदा गत २४ भदौका दिन घरमै आगलागीमा परेर गम्भीर घाइते भएकी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ । उनको कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ ।
अस्पतालका बर्न सेन्टरका प्रमुख डा. किरण नकर्मीले चित्राकारको स्वास्थ्यमा सुधार आएको बताए । यद्धपी अहिले पनि उनको अवस्था खतरामुक्त भएको भन्न नसकिने उनले जानकारी दिए । चित्राकारको अहिले पनि आईसीयूमा राखिएको छ ।
पोलिएको देब्रे हातमा गम्भीर संक्रमण देखा परेपछि कुम मुनिबाट सो हात काटेर फ्याकिएको छ । डा. नकर्मीका आगलागीमा पर्दा उनको शरीर १५ प्रतिशत जलेको थियो । साथै विषाक्त धुँवा फोक्सोमा पुगि फैलिएका कारण बढी असर भएको हो ।
नेता खनालले पनि अहिले श्रीमतीको स्वास्थ्यमा सुधार आएको बताए । ‘इन्फेक्सन भएको कारणले देब्रे हात काटेर फालिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ खनालले भने ।
डा. नकर्मीले जेनजी आन्दोलनका क्रममा घाइते भई उपचारका कीर्तिपुर बर्न सेन्टरमा भर्ना भएका सबैको स्वास्थ्यमा सुधार आएको पनि बताए । जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा आगगालीमा परेर घाइते भएका २५ बढीलाई कीर्तिपुर बर्न सेन्टरमा लगिएको थियो ।
सम्पर्क इमेल : [email protected]