जेनजी आन्दोलनका क्रममा काठमाडौँमा स्वास्थ्य संस्थामा कहाँ – कहाँ कति क्षति ?

108
Shares
तोडफोडमा परेको बाँडभन्ज्याङ स्वास्थ्य चौकी

काठमाडौँ, २ असोज । गत २३ र २४ भदौमा भएको जेन जी नेतृत्वको आन्दोलनमा काठमाडौँमा ९ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा क्षति पुगेको छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार शंकरापुर नगरपालिका र नागार्जुन नगरपालिकामा स्वास्थ्यका कुनै कार्यालयमा क्षति पुग्न पाएन ।

त्यसो त जन स्वास्थ्य कार्यालयले काठमाडौँ महानगरपालिका र त्यस अन्तगर्तका स्वास्थ्य संस्थामा पनि कुनै क्षति नपुगेको बताएको छ । तर महानगरपालिका भित्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर पूर्ण ध्वस्त भएको छ । यस्तै महानगरपालिका भित्रकै औषधी व्यवस्था विभागमा पनि सामान्य तोडफोड र आगजनीको प्रयास भएको छ ।

अरु कहाँ कहाँ क्षति ?
जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीका अनुसार जिल्लाको कागेश्वरी मनहरा नगरपालिका – ७ मा रहेको शहरी स्वास्थ्य क्लिनिक सबै जलेर पूर्ण क्षति भएको छ । त्यहाँ रहेका औषधी र उपकरणमा पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै २४ भदौको आन्दोलनमा गोकर्णेश्वर नगरपालिका भित्रका ४ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । जनस्वास्थ्य प्रमुख अधिकारीका अनुसार गोकर्णेश्वर ३ मा रहेको बालुवा हेल्थ पोष्टमा तोडफोड भएको छ । त्यस क्रममा अल्ट्रासाउण्ड मेसिनमा सामान्य क्षति पुगेको छ भने चोरी समेत भएको छ ।

यस्तै सोही नगरपालिकाको गोकर्णेश्वर नगर अस्पताल र वडा नं ८ मा रहेको बेसीगाउँ शहरी स्वास्थ्य क्लिनिक मा पनि तोडफोड भएको छ । यस क्रममा इसिजी मेसिन , छ थान कम्प्युटर, तथा ल्याव तोडफोड र झ्यालका सिसा फुटेको छ ।

यस्तै वडा नं ५ को शहरी स्वास्थ्य क्लिनिकमा पनि तोडफोड हुँदा पूर्ण रुपमा क्षति भएको अधिकारीले बताए । उनले तोडफोड गरिएका स्वास्थ्य संस्थाबाट पैसा समेत चोरी भएको जानकारी दिए ।

यता टोखा नगरपालिकामा पनि बेसिक हेल्थ सर्भिस सेन्टर पूर्ण रुपमा जलेको छ । सो क्रममा प्रयोगशाला सहित पूर्ण रुपमा क्षति भएको छ ।

उता बुढानिलकण्ठ नगरपालिकामा पनि बेसिक हेल्थ सर्भिस सेन्टर सामान्य तोडफड गरेर भित्रका सामानहरु चोरी भएको बताइएको छ । बुढानिलकण्ठ कै कपन स्वास्थ्य चौकीमा पनि तोडफोड र चोरी भएको छ ।

यता तारकेश्वर नगरपालिकामा पालिका भवन जल्दा त्यहाँ रहेका सवारी साधनमा क्षति पुगे पनि स्वास्थ्य शाखामा असर नभएको बताइएको छ ।

कीर्तिपुर नगरपालिकामा पालिका भवनमा आगलागी हुँदा त्यहाँ भित्र रहेको स्वास्थ्य शाखामा पूर्ण रुपमा क्षति पुगेको छ । कीर्तिपुर नगरपालिका भवन भित्र रहेको स्वास्थ्य शाखामा आगलागी हुँदा औषधी र फर्निचर तथा उपकरणहरु सबै जलेको बताइएको छ ।

यसैगरी चन्द्रागिरी नगरपालिको स्वास्थ्य शाखा संगै वडा नं २ र ९ को शहरी स्वास्थ्य केन्द्रमा सामान्य क्षति पुगेको छ ।

उता दक्षिणकाली नगरपालिकाको वडा नं ७ मा रहेको वीरेन्द्रपार्क शहरी स्वास्थ्य क्लिनिकमा तोडफोड भएको छ । सो क्रममा ल्यापटप, कम्प्युटर र विद्युतीय हाजिरी गर्ने मेसिनहरुमा क्षति पुगेको जनाएको छ ।

जेनजीको नेतृत्वमा भएको अघिल्लो दिनको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ बढीको मृत्यु भएपछि दोस्रो दिन २४ भदौको प्रदर्शन उग्र बनेको थियो ।

त्यस दिन प्रदर्शनकारीहरुले प्रहरी कार्यालय, सरकारी कार्यालयले पुराना राजनीतिक दलका नेताका निवास र कतिपय निजी उद्योग तथा व्यवसायमा आक्रमण गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *