आगलागीले तहस नहस स्वास्थ्य मन्त्रालयलाई आवश्यक सहयोगका लागि समन्वय अघि बढाउँदै डब्लुएचओ
काठमाडौँ, ३१ भदौँ । आगलागीबाट तहस नहस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तयार रहेको छ ।
मन्त्रालयलाई प्राविधिक सल्लाकार तथा सहयोगीको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको डब्लुएचओले मन्त्रालयको नयाँ संरचना खडा गर्नका लागि आवश्यक सहयोग गर्ने बताएको छ ।
डब्लुएचओ नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव नेतृत्वको टोलीले सोमबार मन्त्रालयको स्थलगत निरीक्षण गर्दै तत्काल गर्नु पर्ने सहयोगको विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेको छ । ‘अहिले हामी मन्त्रालयको टिमसंग छलफल गर्दै छौँ । गर्नुपर्ने सहयोग हामीले गर्ने नै छौँ,’ छोटो प्रतिक्रिया दिँदै डा. पाण्डवले भने ।
यसअघि डब्लुएचओले जेनजी आन्दोलनमा घाइतेहरुको उपचार गर्ने सिभिल सर्भिस अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई ३५ वटा ट्रमा ब्याग उपलब्ध गराएको छ ।
प्रत्येक पोर्टेबल ब्यागमा बिरामीलाई सास फेर्न सहयोग गर्ने उपकरणहरू, आईभी फ्लुइड र आवश्यक इन्जेक्सनहरू, रक्तस्राव रोक्न ड्रेसिङ र बेन्डेजहरू, आपत्कालीन शल्यक्रियाका लागि आवश्यक उपकरणहरू र स्वास्थ्यकर्मीहरूको सुरक्षा सामग्री सहित जीवनरक्षक स्वास्थ्य सामग्रीहरू रहेको बताइएको छ ।
यी सामाग्रीहरूले स्वास्थ्यकर्मीहरूलाई आघातग्रस्त घाइतेहरुको अवस्था स्थिर पार्न र प्रभावकारी उपचार गर्न सहयोग पुर्याउने डब्लुएचओले जनाएको छ।
सम्पर्क इमेल : [email protected]