नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा स्वास्थ्य मन्त्रालय : नयाँ भवनमा मन्त्री र सचिवहरु, पुरानोमा महाशाखा प्रमुखहरु

268
Shares
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा तयार हुँदै गरेको स्वास्थ्य मन्त्रीको कार्यकक्ष

काठमाडौँ, २९ भदौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनको चौथो तलामा आइतबार दिउसो धमाधम कार्पेटिङ र फर्निसिङको काम चलिरहेको थियो ।

पश्चिम पट्टीको भागमा मन्त्रीको कार्यकक्ष राख्ने योजनाका साथ कामदारहरुले धमाधम काम गरिरहेका थिए । बाहिर पट्टीको वल्लो र पल्लो कोठमामा दुई जना सचिवहरुका लागि कोठा तयार हुँदै थियो ।

मन्त्रालयका महाशाखा प्रमुखहरुका लागि परिषद्कै पुरानो भवनको माथिल्लो तलामा रहेको बैठक हलमा बसेर काम गर्ने गरी तयार गरिदैछ ।

परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले अहिलेलाई मन्त्री र सचिवका लागि नयाँ भवनको चौथो तल्ला र महाशाखा प्रमुखहरुका लागि पुरानो भवनको तेस्रो तल्लामा रहेको हलमा व्यवस्थापन गर्न लागिएको बताए ।

‘मन्त्रालय सिंहदरबार तिर सर्ने कुरा छ, तर तत्कालका लागि त्यो सम्भव भएन । त्यसैले हामीले तत्कालका लागि यो व्यवस्था मिलाएका हौँ,’ डा. जोशीले भने । उनले अरु कर्मचारीहरुका लागि भने आफूहरुलाई थाहा नभएको बताए ।

यता स्वास्थ्य सचिव डा. विकास देवकोटाले पनि सिंहदरबार भित्रै जाने मन्त्रालयको योजना भए पनि तत्काल त्यो सम्भव नहुँदा तत्कालका लागि परिषद्को भवन प्रयोग गर्न लागिएको बताए । उनले आवश्यकताका आधारमा थप स्थानका पनि प्रयोग हुन सक्ने बताए ।

गत २४ भदौका दिन जेनजी आन्दोलनले उग्र रुप लिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन जलेर नष्ट भएको छ । भवन जल्दा त्यहाँ रहेका सम्पूर्ण सामानहरु जलेका छन् । बाहिर पार्किङ गरिएका २४ वटा गाडीहरु जलेर नष्ट भएका छन् । मोटरसाइकल, स्कुटरहरु पनि जलेको तथा चोरी भएको अवस्था छ ।

जलेर खरानी भरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन

निर्णय तथा कागजातका लागि विभागसंग सहयोग र समन्वय बढाउँदै मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर नष्ट हुँदा त्यहाँका महत्वपूर्ण निर्णयसम्वन्धी कागजात पनि जलेर नष्ट भएको छ । आइतबार दिउसो स्वास्थ्य सचिवद्धय डिल्लीराम शर्मा र डा. विकास देवकोटा स्वास्थ्य सेवा विभागमा पुगेर महानिर्देशक संगै महाशाखा प्रमुखहरुसंग पछिल्लो अवस्थाको विषयमा केन्द्रीत रहि छलफल गरेका थिए ।

‘हामीसंग भएका सबै कागजात डढेको छ, मन्त्रालयमा जाने धेरै काजगातहरु यहाँ पनि हुनसक्छ । यस्तो कागजातहरु हामीलाई आवश्यकता अनुसार उपलव्ध गराउनुहोला । साथै स्वास्थ्य सेवा प्रवाहमा कुनै कमि नहुने गरी सेवाको व्यवस्थापन मिलाउनु होला,’ विभागका कर्मचारीहरुलाई सचिवद्धयले भनेका थिए ।

‘खासगरी अब हामीले तीनवटै विभागले गरेका कामका विषयमा छलफलसंगै त्यहाँ रहेका कतिपय कागजातले मन्त्रालयका कामका लागि पनि सहयोग गर्छ । त्यसका लागि पनि हामी गएका थियौँ । हामीले औषधी व्यवस्था विभाग र आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा पनि यसैगरी समन्वयका लागि आग्रह गर्दछौँ,’ सचिव डा. देवकोटाले भने ।

सचिवद्धयले विभागको छलफलमा दशै वा तिहार अघि नै गर्नु पर्ने कामका विषयमा जानकारी लिएका थिए । त्यसपछि गर्ने कामका विषयमा पनि उनीहरुले चासो राखेको विभाग स्रोतले जानकारी दियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *