जेनजी आन्दोलन : स्वास्थ्यका संघबाहेक प्रदेश तथा स्थानीय तहका ३७ वटा कार्यालयमा क्षति, १५ कार्यालय पूर्ण रुपमा ध्वस्त

228
Shares
जेनजी आन्दोलनमा जलेको नेपालगञ्ज उपमहानगर पालिका र स्वास्थ्य शाखा तथा स्टोर रहेको भवनहरु

काठमाडौँ, २९ भदौ । जेनजी नेतृत्वमा भएको आन्दोलनले विध्वंशात्मक रुप लिँदा २४ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आगोको भुङ्रोमा परेको थियो ।

अघिल्लो दिन २३ भदौमा सरकारी दमनबाट १९ जनाको मृत्यु र ४२६ भन्दा बढी घाइते भएपछि आक्रोशित भिडले दोस्रो दिन मन्त्रालय जलाएको थियो । त्यसबेला मन्त्रालय मात्रै जलेन अघिल्लो दिनका घाइतेका लागि अस्पतालमा रगत, औषधी र उपचारको व्यवस्थापनका लागि सहयोग गर्दै आएको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) पनि जलेर ध्वस्त भयो ।

स्वास्थ्यका संघीय संरचना ध्वस्त भइरहेका समाचार सार्वजनिक हुँदा प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुको खोजनीति हुनै थियो । तर युनिसेफको सहयोगमा स्वास्थ्य सेवा विभागले संकलन गरेको विवरणमा स्थानीय तहमा ३७ वटा स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको देखिएको छ । त्यसमा १५ वटा संस्थामा पूर्ण रुपमा क्षति पुगेको छ । त्यसमा १३ वटा खोपसंग सम्वन्धीत संस्था रहेको बताइएको छ ।

आन्दोलनमा सबभन्दा बढी क्षति मधेश प्रदेशमा ९ वटामा भएको छ । यस्तै बागमती प्रदेशमा ८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । कर्णाली र गण्डकी प्रदेशमा भने स्वास्थ्यका कुनै संस्थामा क्षति नपुगेको बताइएको छ ।

विभागका खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसंग सम्वन्धीत १३ वटा संस्थामा क्षति पुगेको बताए । उनले त्यसमा कोल्डचेन सेन्टरहरु परेको बताए ।

‘यी सबै घटना भएपनि हाम्रो खोप कार्यक्रम रोकिने अवस्थामा छैन । खोप जारी नै रहन्छ । क्षति पुगेका ठाउँमा तत्काल पुर्ननिर्माण तथा पुर्नस्थापनका लागि कामहरु पनि अघि बढाउने कोशीस भईरहेको छ,’ उनले भने ।

उता नेपालगञ्ज उपमहानगरपालिकामा रहेको स्वास्थ्य शाखा, औषधी स्टोर सबै जलेर नष्ट भएको छ । त्यहाँका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले २४ गते आगलागीमा परेर स्वास्थ्यका कार्यालय र स्टोर सबै जलेर नष्ट भएको बताए ।

आन्दोलनका क्रममा प्रदेशका स्वास्थ्य मन्त्रालय देखि नगरपालिका र गाउँ पालिकाहरुको भवन बढी जलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *