अन्तिममा राष्ट्रपति पौडेलसंग मञ्च सेयर गरेर सकियो ‘स्वास्थ्य मन्त्री’ प्रदीप पौडेलको कार्यकाल

172
Shares

काठमाडौँ, २८ भदौ । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार ५०० जनाको मिर्गौला प्रत्यारोपण पुरा भएको अवसरमा गत २३ भदौका दिन काठमाडौँको राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरिएको थियो ।

समारोहमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेललाई निम्त्याइएको थियो भने विशिष्ठ अतिथिको रुपमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल थिए ।

त्यस दिन विहान साढे १० बजे देखि कार्यक्रम आयोजना गर्ने भनिए पनि विशिष्ठ अतिथिको रुपमा तत्कालीन मन्त्री पौडेल सवा ११ बजे तिर झण्डा हल्लाउँदै राष्ट्रिय सभागृह प्रवेश गरेका थिए । उनी पुगेको करीव १५ मिनेट पछि राष्ट्रपति पौडेलको पनि सभागृहमा आगमन भएको थियो ।

राष्ट्रपति कार्यक्रमस्थल पुग्नासाथ राष्ट्रिय गान बज्यो, लगत्तै कार्यक्रम सुरु भयो, केन्द्रकी डा कल्पनाकुमारी श्रेष्ठले स्वागत तथा कार्यक्रमको उदेश्यबारेमा मन्तव्य दिईन ।

त्यसपछि १५०० सफल मिर्गौला प्रत्यारोपण स्मारिका विमोचन गरियो । कार्यक्रममा केही प्रत्यारोपण गरेका व्यक्ति मिर्गौला दान दिएका व्यक्तिहरुले पनि बोलेका थिए ।

सोही अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणमा भएका सफलतासंगै गर्नु पर्ने कामका बारेमा आफ्नो आफ्नो मन्तव्य दिएका थिए ।

त्यसपछि पालो आयो तत्कालीन स्वास्थ्य मन्त्री पौडेलको । उनले १५०० मिर्गौला प्रत्यारोपण गर्न सफल केन्द्र र त्यहाँको नेतृत्व तथा सबै टिमलाई बधाई भन्दै आफूले गरेका र गर्न खोजेका स्वास्थ्य सुधारका कुराहरु सम्छिप्तमा राखे । त्यसपछि बोल्ने पालो आयो राष्ट्रपति पौडेलको । उनले पनि लिखित मन्तव्य पढेर प्रत्यारोपण केन्द्रले गरेको काम र भएको उपलव्धीको प्रसंशामा टुङ्ग्याए ।

कार्यक्रम करीव करीव सवा घण्टामा सकिएको थियो तर त्यसबेला दिउसोको करीव पौने १ बजि सकेको थियो ।

जेनजीको अगुवाईमा त्यसै दिन विहान ९ बजे देखि भ्रष्टाचार र वेथितिको बिरुद्ध माइतीघरमा प्रदर्शन हुँदै थियो । राष्ट्रिय सभागृहमा प्रत्यारोपण केन्द्रको कार्यक्रम चलि रहँदा माइतीघरबाट युवाहरुले बानेश्वर तर्फ मार्चपास सुरु गरिसकेका थिए । त्यसबेला नै माइतीघर र त्यस वरपरको अवस्था पनि भयावह जस्तै थियो ।

विशेष सुरक्षामा हिड्ने राष्ट्रपतिलाई कार्यक्रम सकेर शितल निवास फर्कन खासै गाह्रो भएन । तर विशेष अतिथि बनेका तत्कालीन स्वास्थ्य मन्त्री पौडेललाई भने बाहिरिन समस्या पर्‍यो ।

सुरक्षाकर्मीहरुले सुरुमा झण्डा छोपेर बाहिरिने कि भन्ने योजना बनाएका थिए । तर पछि उनीहरुले थप खतरा मोल्न चाहेनन् ।

त्यसपछि टिमले नै मन्त्रीलाई कुनै निजी सवारी साधनबाट अन्यत्र पठाइयो ।

स्वास्थ्य मन्त्रीको गाडी भने प्रशर्दनी मार्गमा रहेको नेपाल पुलिस क्लवमा राखियो । यस्तै मन्त्रीको अर्को गाडी चालकहरुले २४ भदौका दिन ग्यारेजमा लगेर थन्क्याउन सफल हुँदा जोगिएको छ ।

स्वास्थ्य मन्त्रालयमा दुई दर्जन बढी गाडी र त्यतिकै संख्यामा मोटरसाइकल, स्कुटरमा आगलागी तथा चोरी भएको छ । त्यस हिसावले मन्त्री पौडेलले त्यसदिन सम्भावित जोखिमलाई आँकलन गर्दै लिएको निर्णय सुरक्षाको हिसावले सुखद रह्यो ।

तर, झण्डावाल गाडीमा कार्यक्रमस्थल पुगेका उनी डेढ घण्टा पछि सोही अवस्थामा बाहिरिन नपाउनु उनका लागि दुखद पनि भयो कि ? यद्धपी उनले त्यसपछिका दिनमा जारी गरेका विज्ञप्ती र फेसबुक लाइभमा आई भनेका कुराले पछिल्लो अवस्थालाई उनले राम्ररी बुझेको जस्तो देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *