नेपालमा पहिलो पटक भयो एकै व्यक्तिमा मिर्गौलाको तेस्रो प्रत्यारोपण

भक्तपुर, २१ भदौ । नेपालमा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको हो ।

त्यसरी तेस्रो पटक मिर्गौला प्रत्यारोपण हुने व्यक्ति हुन् सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री समेत रहेका लक्ष्मणकिशोर चौधरी ।
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले गत ९ भदौका दिन उनको प्रत्यारोपण गरेको हो ।

कार्यकारी निर्देशक डा श्रेष्ठका अनुसार उनको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा भएको थियो । दोस्रो प्रत्यारोपण भने भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा वि सं २०७२ सालमा भएको हो ।

दोस्रो पटक गरेको मिर्गौलाले १० वर्षसम्म काम गरेपछि यसपटक तेस्रो पटक प्रत्यारोपण भएको हो । डा श्रेष्ठका अनुसार चौधरीको तेस्रो प्रत्यारोपण ‘पियर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गैर नातेदारबीच अङ्ग साटासाट गरी गरिएको हो ।

सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ तर कहिलेकाही इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी लगायतका समस्याले प्रत्यारोपित मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ ।

यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ ।

तर तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुने डा श्रेष्ठ बताउँछन् । उनका अनुसार प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन समेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । बेलायतमा रहँदा यस्ता जोखिमपूर्ण प्रत्यारोपण गरेको आफ्नो अनुभवले नेपालमा पनि संभव भएको उनले बताए ।

नेपालमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकका रुपमा ख्याति कमाएका डा श्रेष्ठ नेपालमा एकै व्यक्तिमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण सुरु गर्ने चिकित्सकको रुपमा समेत परिचित छन् । उनले सन् २०१० मा वीर अस्पतालमा पहिलो पटक एक व्यक्तिको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

पियर एक्सचेन्ज, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकेर पहिलो पटक प्रत्यारोपण गर्ने श्रेय पनि उनलाई नै जान्छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा १ हजार ५०२ जनाको सफल रुपमा मिर्गौला प्रत्यारोपण गरेको छ । यस्तै सो केन्द्रमा ३५ जनामा कलेजो प्रत्यारोपण समेत भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *