झुम्का कारागारमा रुघा खोकी र ज्वरोको प्रकोप, चार दिनको अवधीमा तीन कैदीबन्दीको मृत्यु

28
Shares


धरान, १९ भदौ । सुनसरीको झुम्का कारागारमा रुघा खोकी र ज्वरो को संक्रमण फैलिदा चार दिनको अवधीमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा २४, ४६ र ५२ वर्षका पुरुष कैदीवन्दी छन् ।

कुल १ हजार ४०० कैदी क्षमताको झुम्का कारागारमा १ हजार ९०० बढी कैदी रहेक छन् । ती मध्ये ४ सय भन्दा बढी कैदीहरु ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ ।

यता कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको छ । इनरुवा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उनको फोक्सोमा इन्फेक्सन देखिएको भए पनि थप कारण खुली सकेको छैन । यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो ।

यसअघि १५ र १६ भदौका दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्रमश ५२ वर्षका रामदेव उराउ र २४ वर्षका सागर राईको मृत्यु भएको थियो ।

उराउलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएको हो भने लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राई शरीर नचल्ने समस्या देखिएको थियो । चिकित्सकले मल्टी अर्गान फेल भएको बताइएको छ ।

यता बीपीमा अहिले १२ जना कैदीको भर्ना गरी उपचार गरिएको छ । उनीहरु खतरामुक्त रहेको जेल प्रशासनले जनाएको छ ।
कोशी प्रदेशका स्वास्थ्य सचिव डा यदुचन्द्र घिमिरेले ठोस कारण थाहा नभए पनि केही कैदीवन्दीहरुमा रुघा खोकी ज्वरोको समस्या देखिएको आफूले जानकारी पाएको बताए । उनले भोली प्रदेश स्वास्थ्य मन्त्रीसहितको आफूहरुको टोली स्थलगत निरीक्षणमा निस्कने जानकारी दिए ।

त्यसो त प्रदेशबाट खटिएका स्वास्थ्यकर्मीहरुले आज मात्रै १०० बढीको स्क्रिनिङ गरेका थिए । रेपिड टेष्ट गर्दा कोभिड, डेंगी, जापानीज इन्सेफलाइटीस नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *