एपीएफ अस्पताललाई क्षयरोग जाँचका लागि अत्याधुनिक मानिएको ‘एमडब्लुआरडी’ मेसिन हस्तान्तरण

80
Shares

काठमाडौँ, १६ भदौ । दैनिक औषत ८०० बिरामी ओपीडीमा आउने बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा अब अत्याधुनिक मेसिनबाट क्षयरोगको निशुल्क जाँच हुने भएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र सानोठिमीले सोमबार सो अस्पताललाई खकारको जाँच गरी क्षयरोग पत्ता लगाउने अत्याधुनिक मेसिन मोलिक्युलर डब्लुएचओ रिकोमेन्डेड रेपिड डाग्नोस्टिक (एमडब्लुआरडी) उपलव्ध गराएको छ ।

एक घण्टा भित्रै रिपोर्ट दिने यो मेसिन क्षयरोग जाँचका लागि विश्वसनीय र अत्याधुनिक मानिन्छ ।

स्वास्थ्य सेवा विभागले खरीद गरेका ८ वटा एमडब्लुआरडी मेसिन गत १५ साउनमा क्षयरोग केन्द्रलाई हस्तान्तरण गरिएको थियो । सोही आठ मध्ये एक मेसिन आज केन्द्रले एपीएफ अस्पताललाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा केन्द्रका निर्देशक डा श्रीराम तिवारीले एमडब्लुआरडी मेसिन अस्पताल इन्चार्ज डीआईजी डा रुपक महर्जनलाई हस्तान्तरण गरे । मेसिनसंगै ३०० थान किट समेत हस्तान्तरण गरिएको केन्द्रका निर्देशक डा. तिवारीले बताए ।

डा तिवारीका अनुसार यो क्षयरोग जाँच गर्ने जीन एक्सपर्ट मेसिन जस्तै हो । तर अत्याधुनिक र नयाँ प्रविधि जडित मेसिन हो । आज हस्तान्तररित सहित स्वास्थ्य सेवा विभागले त्यसबेला खरीद गरेको ८ वटा मेसिन र ५ हजार किटका लागि ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको बताएको थियो ।

केन्द्रका निर्देशक डा तिवारीले मेसिनसंगै किट समेत आफूहरुले नै उपलव्ध गराउने भन्दै क्षयरोग जाँच एपीएफ अस्पतालबाट निशुल्क रुपमा हुने स्पष्ट पारे ।

त्यसो त अहिलेसम्म केन्द्रले देशका ११८ वटा स्थानमा जीन एक्सपर्ट मेसिन राखेर क्षयरोग जाँच गर्दै आएको छ । प्रादेशिक अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरु ती मेसिनहरु राखिएका छन् ।

यसैबीच सोमबार मेसिन हस्तान्तरण समारोहमा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले क्षयरोग मुक्त नेपाल निर्माणका लागि मन्त्रालय लागि परेको बताए । ‘क्षयरोगको यथासक्य छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिवद्ध भएको काम गरिरहेको छ । आज जडित मेसिनले बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान दिन हामीले विश्वास लिएका छौँ,’ उनले भने ।

नेपालमा हरेक वर्ष ६८ हजार नयाँ क्षयरोगी थपिने गरेको अनुमान छ । यद्धपी गतवर्ष केन्द्रले ३९ हजार ११८ वटा नयाँ केश भेटाएको थियो । सरकारको लक्ष्य सन् २०३५ सम्ममा प्रति एक लाखमा १० भन्दा कम गर्ने र सन् २०५० सम्ममा क्षयरोग निवारण अर्थात प्रति १० लाख जनामा १ भन्दा कमले घटाउने रहेको छ ।

नेपालमा प्रतिवर्ष क्षयरोगबाट १६ हजार बढीको ज्यान जाने गरेको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *