मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिने अङ्गको प्रत्यारोपण बढ्दै :

तीन महिना भित्र मिर्गौला र कलेजो गरी पाँच जनामा प्रत्यारोपण

36
Shares

काठमाडौँ, ९ भदौ । पछिल्लो समय नेपालमा पनि मस्तिष्क मृत्यु पश्चात हुने अङ्ग प्रत्यारोपणले गति लिन थालेको छ । पछिल्लो पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट झिकिएको दुईवटा अङ्ग तीन जनामा प्रत्यारोपण भएको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको अङ्ग प्रत्यारोपण पछिल्लो तीन महिना भित्रै भएको दोस्रो केश हो ।

प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठका अनुसार गत ३० साउनमा ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई वटा मिर्र्गाैला र एक वटा कलेजो प्राप्त भएको थियो ।

त्यसरी प्राप्त अङ्गहरु मध्ये दुईवटा मिर्गौला र एक कलेजो एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपित व्यक्ति काठमाडौँका ३८ वर्षका पुरुष आज नवौँ दिनमा डिस्चार्ज भएका छन् भने मिर्गौला प्रत्यारोपित हरु केही दिनमा डिस्चार्ज हुने तयारीमा छन् ।

सो केन्द्रमा तीन महिना अघि मात्रै मस्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त मिर्गौला एक महिला र कलेजो एकजना पुरुषलाई प्रत्यारोपण गरिएको थियो ।

नेपालमा पहिलो पटक २८ बैशाख २०७४ मा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट झिकिएको अङ्ग प्रत्यारोपण गर्न थालिएको थियो । हालसम्म ७ जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा मिर्गौला र ५ जनामा कलेजो गरी कुल १८ जनामा प्रत्यारोपण भएको छ ।

‘मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यारोपण गर्ने कार्यले अपेक्षाकृत गति लिन त नसकेकै हो, तर पछिल्ला वर्षमा यसको गति केही लम्किएको देखिएको छ,’ केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठ भन्छन्, ‘हो पछिल्लो वर्षहरुमा यस कार्यमा छिटो छिटो सफलता पाइएको छ । सम्पर्क गर्नेहरुको अनुपात पनि बढेको छ ।’

मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आँफू जीवित हुँदा मस्तिष्क मृत्युपश्चात अङ्गदान गरेको वा मस्तिष्क मृत्यु भएपश्चात निजको नजिकको नातेदारले निजको शरीरवाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्गदान गरी प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

मस्तिष्क मृत्यु पछिको अङ्ग प्रत्यारोपण सम्वन्धी पछिल्लो केसमा को को खटिए ?

प्रत्यारोपण केन्द्रका अनुसार कार्यकारी निर्देशक समेत रहेका प्रत्यारोपण शल्य चिकित्सक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो तथा मिगौला प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपणमा डा.रोशन घिमिरेले सघाएका थिए भने मिर्गौला प्रत्यारोपणमा डा दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा विकास खड्का, डा लोचन श्रेष्ठ, डा विक्किन डंगोल लगायत खटिएका थिए ।

यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा रेखा श्रेष्ठ, डा शिव सुन्दर राजचल लगायतले सहयोग गरेका थिए ।

नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.विक्रम वीर बज्राचार्य, डा रुबश नाथ योगी, डा सन्तोष कार्की सहभागी थिए ।

रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा हितेश रायमाझी डा.सुधिर जोशी, प्याथोलोजिस्ट डा. सोनालि मिश्र, ल्याब टेक्नोलोजिष्ट बिन्दिरा जोशी, ट्रान्सपलान्ट कोर्डिनेटर तारा साँध, सरु कोजु, बन्दना खत्री, डा निरु शर्मा, डा नेहा सिंह फिजियोथेरापिस्ट सोनी सिखवालले पनि सघाएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

यस्तै नि.नर्सिङ निर्देशक पुजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्जहरु, बबिता लवजु, एलिसा श्रेष्ठ, निरु सुवाल, अनिता कार्की, मीना खर्वुजा, मन्जु भट्टराई सनिषा कार्कीले नर्सिङ व्यवस्थापन तथा बिरामीको उपचारका लागि आवश्यक व्यवस्था मिलाएको उनले बताए ।

यस पटकको मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि सुमेरु अस्पतालका प्रशासन र एनेस्थेसियोलोजिष्ट डा. निरोज हिराचन, पोष्ट मार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ लगायतको टिमले सहयोग गरेको थियो ।

सरकारले मस्तिष्क मृत्यु पश्चात अङ्गदान तथा त्यसरी प्राप्त हुने अङ्ग ग्रहण गर्न  चाहने व्यक्तिको प्राथमिकताको सूची बनाउने र प्रथमिकताक्रमको सूची अधावधिक गरी राख्ने र झिकेका अङ्गलाई तोकिए बमोजिमको प्राथमिकता क्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई समन्वय इकाई तोकेको छ ।

हाल उक्त इकाईको संयोजक डा.कल्पना कुमारी श्रेष्ठ रहेकी छन् । कुनै पनि बिरामीले मापदण्डमा तोके बमोजिम अंग प्राप्त गर्नका लागि नियमित चेक जाँच गरी समन्वय इकाइको प्रतिक्षा सूचिमा नाम लेखाउन पर्ने हुन्छ । सम्बन्धित विरामी उपचाररत अस्पतालमा प्रत्यारोपणको सुविधा भए मस्तिष्क मृत व्यक्तिबाट प्राप्त हुने अंग सोही अस्पतालमा पु¥याउने कार्य समन्वय इकाइले गर्ने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *