मधेश प्रदेशका स्वास्थ्य मन्त्री पुगे हैजा प्रभावित क्षेत्र वीरगञ्ज, भने – ‘नियन्त्रणका लागि सबै संयन्त्र परिचालित छ’
काठमाडौँ, ८ भदौ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले वीरगञ्जमा फैलिएको हैजाको महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र निकायलाई परिचालन गरिसकेको बताएका छन् ।
आइतबार वीरगञ्जमा बसेको जिल्ला स्वाास्थ्य संकट व्यवस्थापना समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्री सिंहले हैजा महामारी रोकथाम र नियन्त्रणका लागि आवश्यक जनशक्ति, औषधी र किटहरुको व्यवस्थापन गरिएको बताए ।
उनले भने, ‘वीरगञ्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं। बिरामीको उपचारमा कुनैपनि कमी वा लापरवाही हुन दिदैनौं । यसका लागि औषधि, उपकरण, जनशक्ति जे जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’
महामारी फैलिदै गएपछि स्वास्थ्यले गत शुक्रबारबाट प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली वीरगञ्जमा खटाएको छ । यस्तै प्रदेश आपूर्ति प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुर नेतृत्वको अर्को टोली पनि वीरगञ्जमा परिचालन भईरहेको छ ।
आइतबारको बैठकमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधी उपलब्ध गराइसकेको जानकारी गराए । नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक, १० जना पारामेडिक्स स्टाफ र केहि स्टार्फ नर्स पठाइसकेको उनले बताए ।
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसंगै बिरामीको उपचारका लागि आवश्यकता अनुसार थप औषधी र जनशक्ति उपलब्ध गराउँदै जानेपनि उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमद ठाकुरका अनुसार आइतबार रातीसम्म ७१ जनामा हैजा पुष्टि भइसकेको छ।
उनका अनुसार हैजा पुष्टि भएका मध्ये २२ जनाको विभिन्न अस्पतालको आईसीयूमा र ६ जनाको एचडीयूमा उपचार जारी छ।
वीरगञ्जमा २०० बढीको संख्यामा झाडापखालाका बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।
सम्पर्क इमेल : [email protected]