समुदायस्तरमै हैजा फैलिएपछि वीरगञ्जका विद्यालयहरु दुई दिन बन्द

काठमाडौँ, ८ भदौ हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले आज र भोली (दुई दिन) सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको जनाएको छ ।
विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् । त्यसमध्ये ११ जना आईसीयूमा उपचाररत छन् ।
अहिले हैजा प्रभावित क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका एजेन्सीहरुले समन्वयात्मक रुपबाट काम गर्दै आएका छन् । यस्तै विश्व स्वास्थ्य संगठन नेपालले पनि प्राविधिक टोली तथा उपचारका लागि अत्यावस्यक सामग्री उपलव्ध गराउन सहयोग गरिरहेको छ ।
सम्पर्क इमेल : [email protected]