वीरगञ्जमा हैजाको प्रकोप अपडेट : ४२ जनामा पुष्टि, १२९ जना अस्पतालमा भर्ना

72
Shares

काठमाडौँ, ८ भदौ । वीरगञ्जमा आइतबार (आज) विहानसम्म हैजा संक्रमितको संख्या ४२ पुगेको छ । जिल्लाका सरकारी र निजी अस्पतालका साथै शिक्षण अस्पतालमा भर्ना हुनेको संख्या १२९ पुगेको छ ।

त्यसध्ये ११ जना आईसीयू तथा एचडीयूमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं फोकल पर्सन जैमद ठाकुरले बताए ।

वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्लीस्थित नयाँ टोलमा हैजाका बिरामी बढी देखिएका छन् । गत २८ साउन देखि नै झाडा पखलाका बिरामीहरु फाटफुट रुपमा देखिए पनि हैजा पुष्टी भएको भने गत बिहीबार हो ।

गत मंगलबार देखि अलि बढी देखियो । शुक्रबार देखि भने अस्पतालहरुमा ठूलो संख्यामा झाडापखाला प्रभावितहरु आएका थिए । संका लागि परीक्षण गरिएका धेरै जनामा हैजा गराउने ब्याक्टेरिया भिब्रियो कलेरा देखा परेको छ ।

‘अहिले हामीले अस्पतालहरुमा थप जनशक्तिका साथै आवश्यक औषधीहरुको व्यवस्था मिलाएका छौँ । आज मात्रै मधेश प्रदेश सरकारले थप औषधीहरु पठाएको छ,’ ठाकुरले भने, ‘संगसंगै जनचेतनाका काम पनि भईरहेका छन् ।’

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले आपूर्ती केन्द्रबाट हैजाको परीक्षणका लागि थप टेष्ट किट, तथा अत्यावश्यक औषधीका सामग्रीहरु प्रभावित क्षेत्रहरुमा उपलव्ध गराईएको बताए । उनले पनि प्रदेश स्वास्थ्य निर्देशनालयले पनि जिल्लासंग समन्वय गरी सचेतनाका कार्यक्रम तथा उपचारका लागि आवश्यक सहयोग गरिरहेको जानकारी दिए ।

त्यसो त केही दिन अघि मात्रै झाडा पखला लागेर अस्पताल लैजाँदै गर्दा दुई जनाको बाटोमै मृत्यु भएको थियो । तर उनीहरुमा हैजाको जिवाणु थियो कि थिएन त्यो जाँच गरिएको थिएन । त्यसैले हैजा ले नै हो भन्ने पुष्टि भने भएको छैन ।

जिल्लामा हैजाले प्रकोपको रुप लिन थालेपछि शनिबार अपरान्ह पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीको अध्यक्षतामा प्रकोप व्यवस्थापन समन्वय समितिको बैठक बसेको थियो । सो बैठकले उपचारको प्रभावकारितासंगै सचेतना बढाउने निर्णय गरेको थियो ।

अहिले स्वास्थ्यकर्मीको टोलीले विभिन्न स्थानबाट पानी संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *