जेष्ठ नागरिकका अपेक्षा र परिवारका सदस्यले गर्नु पर्ने महत्वपूर्ण दश काम

– प्रा. दुर्गा खड्का मिश्र, जनस्वास्थकर्मी

यस धर्तीमा जन्म लिएका हरेक प्राणीको खास जीवन चक्र हुने गर्दछ । साधारणतया सबैले त्यो चक्र पुरा गर्दछन् ।  जन्मेपछि एक शिशु, युवा, वयस्क हुँदै वृद्ध अवस्थासम्म पुग्छ जुन प्राकृतिक प्रक्रिया  नै हो ।

हरेक व्यक्तिले वृद्ध अवस्थाको अनुभूति गर्ने अवसर पाउने हो भने यो अवस्थालाई धेरै भन्दा धेरै स्वस्थ, सक्रिय तथा सिजर्नशील बनाउन सकिन्छ । आजको विश्वमा वृद्ध वृद्धाहरुको जनसंख्या वढ्दै छ र यो अवस्था दक्षिण एसियाली मुलुकमा त झन् छिट्टै बढ्दैछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६० वर्ष र सोभन्दा माथिका व्यक्तिहरूलाई वृद्ध भनिन्छ ।

आजको बदलिदो सामाजिक, आर्थिक तथा राजनैतिक अवस्था र जीवन शैलीका कारणले हरेक जेष्ठ नागरिकहलाई स्वस्थ र सक्रिय राख्न परिवार, समाज तथा राज्यको ठुलो भूमिका रहन्छ ।

यस सम्बन्धमा निम्न १० जेष्ठ नागरिकका आवश्यकताहरुलाई छोटकरीमा सबैलाई जानकारी तथा उपयोगी बनोस भनी प्रस्तुत गरिएको छ ।

(१) राम्रो स्वास्थ: वृद्धवस्थामा सक्रिय जीवन यापनका लागि स्वस्थ रहनु अत्यन्तै जरुरी हुन्छ । स्वास्थ राम्रो हुनु भनेको कसै माथि भर नपर्नु हो । वृद्धवस्थामा हाड/हड्डी सम्बन्धी समस्या, जोर्नी सम्बन्धी समस्या तथा लगातार पिसाव चुहिने समस्याले गर्दा बृद्धबृद्धाहरु अरुको भरमा जीवनयापन गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा गुणस्तरीय सेवाको जरुरी पर्दछ जुन घरपरिवारले व्यवस्था गरिदिनु पर्ने हुन्छ । यदि घरपरिवारमा त्यो वातावरण नभएमा सामुदायिक संघ संस्था र स्थानीय सरकारले व्यवस्थापन गर्न सक्छन् ।

(२) सबैसंगको सुमधुर सम्बन्ध: आफ्ना प्रियजन, साथीभाईहरु संगको मजबुत सम्बन्धले जेष्ठ नागरिकहरुलाई एक्लोपनबाट बचाई मानसिक स्वास्थलाई स्वस्थ राख्न मदत गर्दछ । यसका लागि परिवारका सदस्यहरुसंग वरावर संवाद गर्ने , आफुलाई मनमा लागेका कुरा साथीभाईहरुसंग साट्ने /आदानप्रदान गर्ने तथा छोरा, छोरी, बुहारी , श्रीमान/श्रीमती , दाजु भाईहरुले आफ्ना लागि गरेका राम्रा काम कुराहरुका बारेमा सकारात्मक हुने आदि भएमा पारिवारिक सम्बन्ध अझ प्रगाढ बन्न सक्छ ।

(३) कार्यतालिका: जेष्ठ नागरिकहरुका लागि दैनिक कार्यतालिका निश्चित गर्नु उपयोगी हुन्छ । जस्तै नास्ता, खाना, सुत्ने, उठ्ने , सकेको काम गर्ने आदि । यसो गर्न सकेमा ऊहाँहरु अल्मलिनु हुन्न । सेवा प्रदान गर्ने परिवारक सदस्य वा अन्य व्यक्तिहरु माथि उहाँँहरुले विश्वास पनि गर्नु हुन्छ ।

(४) खाना: जेष्ठ नागरिकका लागि खाना विशेष हुने गर्दछ। बेला वखत समुदायमा हुने सामाजिक रिति रिवाज अनुसार सानातिना भोज कार्यक्रममा जेष्ठ नागरिकलाई पनि सहभागी गराउन राम्रो हुन्छ। उहाँहरुका लागि स्वादिष्ट तर स्वस्थकर खाना खुवाउन उचित हुन्छ । खाना पोषिलो र सजिलै पच्न सक्ने पनि हुनु पर्छ ।

(५) समुदायमा पहिचान कायम राख्ने:  जेष्ठ नागरिकहरुलाई बेलावखत सामाजिक क्रियाकलापमा पनि सहभागि गराउन उपयुक्त हुन्छ । उहाँहरुले विगतमा गरेका उदाहरणीय कामहरुको सवैको सामू प्रस्तुत गर्ने अवसर दिदा समुदायले उहाँहरुको उच्च कदर गर्नुका साथै उहाँहरुको पनि मनोबल उच्च रहन्छ ।

(६) आदर सम्मान: जेष्ठ नागरिकहरु आदर सम्मानका पात्रहरु हुनुहुन्छ। उहाँहरुले आफ्नो र आफ्ना परिवार तथा समाजका लागि गर्नु भएको योगदानको उच्च मूल्यांकन गर्दै बेलावखत सम्मान कार्यक्रम आयोजना गर्न सकिन्छ । यस्ता कार्यबाट युवापुस्ताले पनि उक्त कार्यको अनुसरण गर्न सक्दछन् । उहाँँहरुलाई आदरभावले सम्वोधन गर्नुका साथै सेवा प्रदान गर्नु अत्यन्तै जरुरी हुन्छ ।

(७) योगाभ्यास, व्यायाम:  जेष्ठ नागरिकहरुको शरीरले साथ दिए सम्मको उचित व्यायाम, योगाभ्यास गर्नु राम्रो मानिन्छ । साधारण हिड्डुल गर्ने, नाच्ने , खेल्ने आदि कार्यले शारीरिक, मानसिक तथा अध्यात्मिक स्वास्थलाई मजबुत बनाउदछ ।

(८) सुविस्ता /सहजता:  जेष्ठ नागरिकहरुलाई कुनै पनि किसिमको तनाव पूर्ण वातावरणमा नराख्नु वेस हुन्छ । उहाँहरुको जवानी अवस्थामा धेरै तनाव लिएर आफ्ना घर परिवारहरुको सम्पन्नताको लागि धेरै कार्य गरिसक्नु भएको छ । घर परिवारसंग वस्दा उहाँहरुलाई बढी सुविस्ता महसुस हुन्छ भने सोही अनुसारको व्यवस्था गर्न उत्तम हुन्छ । यदि घर परिवार छिन्न भिन्न भई उहाँको सेवा गर्ने व्यक्तिहरु छैनन् भने सरकार तथा सामाजिक संघ संस्थाहरुले उहाहरुलाई चाहिने व्यवस्थापन गर्नु पर्दछ ।

(९)आर्थिक सुरक्षा: मानिसहरुको हरेक अवस्थामा आर्थिक रुपले सुरक्षित हुनु जरुरी हुन्छ तर वृद्ध अवस्थामा यो अझै महत्वपूर्ण बन्छ । वृद्ध अवस्थामा मानिसहरु सक्रिय रुपमा काम गरि आर्थिक उपार्जन गर्न नसक्ने अवस्था हुने हुनाले सामाजिक सुरक्षाको व्यवस्था उचित ढंगले हुनु अत्यन्तै जरुरी हुन्छ ।

(१०) आत्मनिर्भरता/स्वभिमानता:  हरेक जेष्ठ नागरिकहरु आफ्नो स्वभिमानतामा वाच्न चाहने हुनाले उहाँहरुको उक्त आत्मनिर्भरता तथा स्वभिमानता उच्च कदर गर्नु पर्दछ । यदि उहाँहरु आफुले सक्ने कामहरु गर्न चाहनु हुन्छ र सक्नु हुन्छ भने गर्न दिन पर्दछ । यसले उहाँहरुको आत्म सम्मानलाई सधै उच्च राख्दछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *