छोरीलाई पढ्न सघाउँदा ४९ वर्षे आमाले पनि निकालिन् एमबीबीएसमा नाम
बीबीसी न्यूज तमिल ।
‘मेरी आमा म डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो। त्यो सपना पूरा गर्न मलाई मेरी छोरीले सघाइन्,’ अमुथावल्ली मनिवन्ननले बताइन्।
दक्षिण भारतको तमिलनाडु राज्यको एउटा सानो नगरमा बस्ने अमुथावल्लीले आफ्नो सम्पूर्ण जीवनकालमा सङ्घर्ष गर्नुपरेको छ। दलित समुदायकी उनी बच्चैदेखि पोलियो रोगबाट ग्रसित थिइन्। उनी ११ वर्षको हुँदा उनका पिताको निधन भयो।
सानैदेखि अमुथावल्ली डाक्टर बन्ने सपना देख्थिन्। तर स्कूलको अन्तिम परीक्षामा पर्याप्त अङ्क ल्याउन असमर्थ भएपछि उनले फिजिओथेरपी रोजिन्।
गत वर्ष उनले आफ्नी एकमात्र छोरी संयुक्तालाई मेडिकल स्कूलमा प्रवेश परीक्षाका निम्ति तयारी गर्न सघाइन्। त्यसपछि उनले आफैँ पनि परीक्षा दिने निधो गरिन्।
आफ्नो पुरानो आकाङ्क्षाले उनलाई कडा परिश्रम गर्न प्रोत्साहित गर्यो। उनको कठिन परिश्रमले उनलाई सफल बनायो। अमुथावल्ली र छोरी दुवै जना प्रवेशपरीक्षामा उत्तीर्ण भए। अब दुवै जना चिकित्साशास्त्र अध्ययन गर्ने तयारीमा छन्।
‘मैले विगत महिनादेखि कठिन मेहनत गरेँ। सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकोमा म छक्क परेकी छु,’ ४९ वर्षीया अमुथावल्लीले भनिन्।
भारतका मेडिकल कलेजहरूमा भर्ना पाउन निकै प्रतिस्पर्धा गर्नुपर्छ।
डाक्टर बन्न एमबीबीएस तहको पढाइका लागि उपलब्ध १,२०,००० सीटका लागि देशभरि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्छन्।
तीमध्ये आधा सीट मात्र सरकारद्वारा सञ्चालित निकायसँग छ। तिनमा विद्यार्थीहरूले थोरै शुल्क तिर्छन्।
आफ्नो विद्यालयस्तरीय शिक्षा सकिएपछि अरू कैयौँ विद्यार्थीहरूजस्तै संयुक्ताले राष्ट्रिय प्रवेशपरीक्षाका लागि एक वर्ष तयारी गरिन्।
‘उनी छोरी संयुक्तो मलाई बारम्बार उत्तर जाँचिदिन भन्थिन्। अचानक मेरो मनमा मैले पनि कोसिस गर्नुपर्छ भन्ने आयो,’ अमुथावलीले बीबीसी न्यूज तमिललाई भनिन्।
अमुथावल्लीले ३० वर्षअघि नै विद्यालय तहको पढाइ सकेकी हुन्। त्यतिखेर उनले पढेको पाठ्यक्रम निकै भिन्न थियो।
‘मलाई भौतिकशास्त्र निकै कठिन लाग्यो। धेरै समीकरण र सूत्र थिए। मैले धेरै बुझ्न सकिनँ। जीवशास्त्रमा मैले राम्रो गर्न सकेँ,’ राहतका सास फेर्दै उनले भनिन्।
मेडिकल प्रवेश परीक्षामा विद्यार्थीहरूले ‘मल्टिपल चोइस’ प्रश्नावलीको सामना गर्नुपर्छ। धेरै विकल्पमध्ये सही विकल्प रोज्नुपर्छ। गलत जबाफ दिएमा अङ्क काटिन्छ।
‘हरेक प्रश्नको चारवटा उस्तै लाग्ने जबाफ राखिएका हुन्छन्। तीमध्ये सही विकल्प रोज्ने तरिका मेरी छोरीले मलाई सिकाइन्।’
संयुक्ताले आफूले आमालाई सघाएको सम्झिइन्। उनले सबै प्रश्नको छिटो उत्तर दिन अनि अनुमान गरेर अङ्क गुम्ने जोखिम नमोल्न सिकाएको बताइन्।
‘सामान्यतया म मेरो कक्षाबाट घर फर्कनासाथ आमाले मलाई पाँचवटा प्रश्न सोध्न भन्नुहुन्थ्यो। तीमध्ये धेरैजसो उहाँले तीनवटाको सही उत्तर दिनुहुन्थ्यो। म रिसाउँथेँ,’ १८ वर्षीया संयुक्ताले भनिन्।
‘मेरी आमालाई जीवशास्त्र मन पर्थ्यो। तर भौतिकशास्त्र र रसायनशास्त्र गाह्रो लाग्थ्यो। उहाँले अझै थप मेहनत गर्नुभएको भए धेरै अङ्क आउन सक्थ्यो,’ संयुक्ताले भनिन्।
आमालाई सिकाउँदा आफूलाई पनि सिक्न धेरै सहज भएको संयुक्ताले बताइन्।
सम्पर्क इमेल : [email protected]