स्वास्थ्य पत्रकारहरुका लागि सञ्चालन गरिएको ‘ह्याप्पीनेश कोर्ष’ सम्पन्न
काठमाडौँ, ३१ असोज । स्वास्थ्य पत्रकारहरुका लागि सञ्चालन गरिएको तीन दिने ‘ह्याप्पीनेश कोर्ष’ शनिबार सम्पन्न भएको छ ।
आध्यात्मिक गुरु श्री श्री रवि शंकरले स्थापना गरेको संस्था आर्ट अफ लिभिङ फाउण्डेशनले तयार गरेको आधारभूत तहको ध्यान (ह्याप्पीनेश कोर्ष) गत बिहीबार देखि स्वास्थ्य पत्रकारहरुका लागि उपलव्ध गराईएको थियो ।
आर्ट अफ लिभिङ नेपालका महासचिव समेत रहेका यतिकेम डिस्ट्रिब्युटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारहरुका लागि यो कोर्ष उपलव्ध गराईएको हो । पत्रकारहरुलाई प्रशिक्षक रितिका लोहिया र शरद भेषवाकरले प्रशिक्षण दिएका थिए ।
‘खासगरी शरीर स्वस्थ राख्न योग र व्यायमको भूमिका रहे जस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान जरुरी रहन्छ । अहिलेको व्यवस्ततापूर्ण समय र अझ सञ्चारकर्मीहरुको दैनिक जीवन अझ् व्यस्त र तनावपूर्ण हुने गर्दछ । यो तनावपूर्ण जीवनलाई व्यवस्थित गर्नु पनि आवश्यक छ भनेर नै हामीले यसपटक स्वास्थ्य विटमा क्रियाशील पत्रकारहरुका लागि यो आधारभूत तहको (ह्याप्पीनेश) कोर्ष गराएका हौँ । यसबाट आफ्नो जीवनलाई उर्जावान गराउन, शारीरिकसंगै मानसिक रुपमा समेत स्फुर्ती बढाउन पनि पक्कै मद्धत मिल्यो होला भन्ने आशा लिएको छु,’ शनिबार कोर्ष समापनको अवसरमा वैद्यले भने ।
प्रमुख प्रशिक्षक रितिका लोहियाले श्री श्री रवि शंकरले प्रतिपादन गरेको यो कोर्षले जीवनलाई नयाँ दिशा देखाउने भन्दै जीवनलाई सही अर्थबाट कसरी अघि बढाउने भन्ने बारेमा सिकाउने बताईन् । ‘यसले मानिसको सोच परिवर्तन गरिदिन सक्छ, व्यवहार परिवर्तन गरिदिन सक्छ, हेर्ने दृष्टिकोण र बुझाई परिवर्तन गरिदिन सक्छ । वर्तमानलाई हेर्ने, जुन सुकै परिस्थिति स्वीकार गर्न सक्ने, सबैको कुरा सुन्ने र निर्णय आफूले लिने जस्तो व्यक्तित्व निर्माण गर्न मद्धत पुग्छ । यसमा रहेको सुदर्शन क्रिया गुरुद्धारा प्रतिपादित अझ विशिष्ट विधि हो । त्यसले शारीरिक र मानसिक रुपमा उर्जा प्रदान गर्छ । समग्रतामा भन्दा यो हरेक व्यक्तिको जीवनलाई रचनात्मक ढंगले अघि बढाउन मद्धत गर्छ । यसपटक हामीले स्वास्थ्यमा क्रियाशील सञ्चारकर्मीहरुलाई यो कोर्ष दियौँ यसलाई निरन्तरता दिनु हुनेछ भन्ने विश्वास लिएकी छु,’ उनले भनिन् ।
के हो सुदर्शन क्रिया ?
अत्धात्मिक गुरु श्री श्री रवि शंकरद्धारा प्रतिपादित सुदर्शन क्रिया श्वास लिने एक लयात्मक, शक्तिशाली र स्वास्थ्यबर्द्धक विधि हो । ‘सु’को अर्थ राम्रो वा सही हो । दर्शनको अर्थ साक्षात्कार वा झलक हो । क्रिया एक यस्तो अभ्यास हो जसले शुद्धि प्रदान गर्छ । सुदर्शन क्रिया शुद्धीकरणको एक यस्तो प्रक्रिया हो, जसको अभ्यासले हामी आफ्नो वास्तविक स्वरुपसँग साक्षत्कार गर्छौँ। सुदर्शन क्रिया श्वास लिने एक लयात्मक, शक्तिशाली र स्वास्थ्यबर्द्धक विधि हो ।
जीवनको उर्जा र प्राणको स्रोत हो, सास । प्राण शरीर वा मन दुवैको स्वास्थ्य र सुखको आधार पनि हो । जब प्राण उच्च हुन्छ, व्यक्तिले स्वस्थ्य र सजग अनुभव गर्छ । सुदर्शन क्रिया ९० प्रतिशत शरीरको विषाक्त पदार्थ र तनाव हटाउन उपयोगी हुन्छ ।
सुदर्शन क्रियाको अभ्यासले उच्च श्रेणीको प्रतिरोधक शक्ति, सहनशक्ति र निरन्तर उर्जाको अनुभव दिलाउँछ । यसको नियमित अभ्यासले हामीलाई निरोगी बनाउन मद्दत गर्छ। यो पद्धतिले तनाव, थकान, क्रोध, निराशा जस्ता विकारयुक्त भावबाट मुक्त गर्छ । यसले मनलाई शान्त र एकाग्र राख्नुका साथै उर्जावान शरीरलाई गहिरो विश्राम पनि प्रदान गर्छ ।
कसरी गर्ने ?
सुदर्शन क्रियामा चार चरण हुन्छ । उज्जयी प्राणायाम, भास्क्रिका प्राणायाम, ओमको जप र क्रिया योग । प्राणायाम सुरु गर्नुअघि वज्रासनको स्थितिमा बस्नुपर्छ । सुदर्शन क्रिया श्री श्री रवि शंकरले प्रतिपादन गरेको एक विशिष्ठकृत विधि हो । सुदर्शन क्रियाका लागि श्री श्री रवि शंकरको आवाजमा मात्रै गर्न मिल्छ ।
यसैबीच ह्याप्पीनेश कोर्ष समापनका अवसरमा सहभागीका तर्फबाट बोल्दै पत्रकार रामप्रसाद न्यौपानेले तीन दिनको कोर्षले धेरै कुराहरु सिकाएको र परिवर्तन ल्याइदिएको भन्दै खुशी व्यक्त गरे ।
यस्तै पत्रकारहरु भगवती तिमल्सिना, डीबी खड्का, सरोज ढुंगेल, बुद्धि कटेल, विष्णु नेपाल, कृपाल गौतम, यसिमा महत, सञ्जीता खनाल, शरद पोखरेल, विना न्यौपाने, नमराज भट्ट लगायतले कोर्ष लिईसके पछिका आफ्ना अनुभवहरु सुनाएका थिए ।
कोर्षका लागि समन्वयको जिम्मेवारी यतिकेमका तर्फबाट दिनेशराज पौडेलले गरेका थिए ।
कोर्षमा २५ जना स्वास्थ्य पत्रकार सहभागी थिए ।
सम्पर्क इमेल : [email protected]