परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६६ औँ बार्षिकोत्सव मनायो

अस्पताललाई ५०० बेडमा बिस्तार गर्ने स्वास्थ्य मन्त्रीको घोषणा
28
Shares

काठमाडौँ, ३१ साउन । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६६औं वार्षिकोत्सव मनाएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पुर्‍याएको योगदानको बिस्तृत रुपमा समीक्षा प्रस्तुत गरिएको थियो।

विसं २०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल आजका दिनमा आईपुग्दा ४८९ शैय्यामा सञ्चालित छ । यस अवधीमा लाखौँ महिला तथा नवजात शिशुको स्वास्थोपचार भएको छ ।

बार्षिकोत्सव समारोहमा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै निर्देशक डा. श्रीप्रसाद अधिकारीले गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरंग विभागबाट २ लाख ३३ हजार भन्दा बढीले सेवा लिएको जानकारी दिए ।

“अस्पतालले पछिल्लो समय सेवामा उल्लेख्य बिस्तार गरेको छ। स्त्रीरोग सम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको छ।” “मन्त्रीज्यूको अग्रसरतामा भूकम्पपछि रोकिएको सरकारी आईभीएफ सेवा पुनः प्रभावकारी रूपमा सञ्चालनमा ल्याइएको छ, यसले निःसन्तान दम्पतीका लागि ठूलो राहत पुग्ने छ”, डा. अधिकारीले बताए ।

अस्पतालले लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) दुर्गमका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धारपछिको उपचार र गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाईमार्फत निःशुल्क उपचार जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको जनाएको छ ।

परोपकार अस्पताललाई ५०० बेड बनाईदै छ : स्वास्थ्य मन्त्री पौडेल

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका थिए । “अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको मन्त्री पौडेलले बताए ।

भविष्यमा ‘परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताललाई ११ बेड थप गरेर ५०० बेड बनाइने’ साथै काठमाडौंका दुई नगरपालिकामा ‘२५(२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माण’को सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए ।

“प्रसूति गृह केवल एक अस्पताल होइन, यो लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो। यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हो”, “सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आईभीएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ। अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महतवपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु।” मन्त्री पौडेलको भनाई थियो ।

सोही अवसरमा अस्पतालले आयोजना गरेको स्वस्थ शिशु प्रतिस्पर्धामा उपाधि जित्न सफल शिशुहरुलाई पुरस्कृत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *