काठमाडौंँ महानगरद्धारा मापदण्ड विपरीतका पानीका जार नष्ट
काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिका मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ ।
महानगरका अनुसार गत असार र यही साउनमा मात्रै मापदण्ड विपरीतका ४५६ वटा जार बरामद गरी नष्ट गरिएको हो ।
बर्खा याममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीको अनुगमनको क्रममा उक्त जार नष्ट गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको पनि उनले बताए । चालु आर्थिक वर्ष शुरू भएपछि कामपाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी-बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको न्यौपानले बताए ।
महानगरले जारमा राखिएको पानीलाई वर्षायाममा विशेषगरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ ।
सम्पर्क इमेल : [email protected]