यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनायो ‘प्राइड-डे’
काठमाडौँ, २५ साउन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले गाईजात्राको अवसरमा काठमाडौँमा परेड प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले बृहत परेड प्रदर्शन गरेका हुन् ।
कार्यक्रमको आयोजना ब्लु डाइमण्ड सोसाइटीले गरेको हो । आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा भेला भएका उनीहरु विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाएका थिए ।
सोसाइटीले २०५९ सालदेखि गाईजात्रा उत्सवलाई ‘प्राइड डे’ को रुपमा मनाउँदै आएको छ ।
‘प्राइड डे’ को परेडमा सहभागीहरुले वर्ष भरी दिवङ्गत भएका आफ्ना समूदायका व्यक्तिहरुको स्मृतिमा बसन्तपुर पुगेर श्रद्धान्जली सभा समेत गरेका थिए ।
त्यसअघि प्राइड परेड यात्रा काठमाडौंका नारायण चौरबाट सुरु भएर दरबारमार्ग, ठमेल, ज्याँठा, ठहिटी हुँदै बसन्तपुरमा पुगेर दिप प्रज्वलन गरी समापन भएको थियो।
सोसाइटीकी निवर्तनमान अध्यक्ष एवम सल्लाहकार पिंकी गुरुङले गाईजात्रालाई आफूहरुले अस्तित्व र स्वतन्त्रताको उत्सवका रुपमा २२ बर्षदेखि मनाउँदै आएको बताइन्।
‘गाईजात्रा हाम्रा लागि केवल शोक वा मृत स्मृतिको दिन मात्र होइन। अधिकार, स्वतन्त्रता र अस्तित्व स्थापित गराउने एउटा माध्यम पनि हो। खुल्न नसकेका धेरै साथीहरु गाईजात्रामा आएर खुल्नुहुन्छ। त्यसैले यो लैङ्गिक पहिचान प्रदर्शन गर्ने अवसरपनि हो,’ गुरुङले भनिन्।
सम्पर्क इमेल : [email protected]