एक जना व्यक्तिको कारण नेपालको मेडिकल शिक्षा ध्वस्त भयो : सभापति थापा
काठमाडौँ, २५ साउन । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले डा. गोविन्द केसीका कारण नेपालको चिकित्सा क्षेत्र ध्वस्त भएको आरोप लगाएका छन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपालको चिकित्सा शिक्षाः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सभापति थापाले डा. केसीको नामै त लिएनन् तर उनको भनाई डा. केसीमाथि लक्षित भएको स्पष्ट बुझिन्थ्यो ।
सम्वोधनका क्रममा सभापति थापाले भनेका थिए, ‘एक जना व्यक्तिको कारण नेपालको मेडिकल शिक्षा क्षेत्र नै ध्वस्त भयो । २०७० सालको संविधान सभामा पनि म थिएँ । पहिले – पहिले त मलाई लाग्थ्यो यी व्यक्तिले राम्रै गर्न आँटेकी । तर पछि बुझ्दा खेरी त सरकारी डाक्टर पो रहेछन् । सरकारी डाक्टर, राजश्व खाएको मान्छेले आमरण अनसन बसेर चिकित्सा शिक्षा ध्वस्त पार्न मिल्छ ?’ आक्रोशित भावमा सभापति थापाले प्रतिप्रश्न गर्दै भने ।
उनले कुनै पनि विश्वविद्यालय तालावन्दी गर्ने हडताल गर्न नपाईने व्यवस्था गरेको भन्दै यदि गरेमा त्यस्ता प्राध्यापक तथा उपप्रध्यापकहरुलाई दण्डनीय व्यवस्था रहेको समेत दावी गरे ।
उनले कुनै माग राख्नु परेमा आफू माथि समस्या परेमा सांकेतिक कुरा गर्नु पर्ने र सुन्नु पर्ने पक्षले पनि तत्कालै सुन्नु पर्ने भन्दै आन्दोलन वा हडतालको अवस्थामा जान दिन नहुने बताए ।
सभापति थापाले अहिले राज्यले शिक्षा र स्वास्थ्यमा स्वीकृति दिने तर अनुगमन नगरी छाडा छाडिदिने गरेको समेत आरोप लगाए । ‘अहिले शिक्षा र स्वास्थ्यलाई राज्यले अनुमगन नगर्ने, नियमन नगर्ने, स्वीकृति दिने छाडा छाड्दिने भएको छ । सरकारीको अनुमगन छैन, निजीमा त झन् जाने कुरै भएन,’ उनले भने ।
थापाले अब यी अनुगमन गर्ने काम समितिले गर्ने समेत ठोकुवा गरे ।
एक प्रसंगमा उनले नेपालमा चिकित्सा शिक्षाको गुणस्तर अब्बल रहेको बताए । ‘मेडिकल काउन्सिलका अध्यक्ष यहि हुनुहुन्छ, भारत, चीन, बंगलादेश वा अन्य देशबाट पढेर आएकाहरु लाइसेन्समा बढी फेल हुन्छन्, तर नेपालमा पढेकाहरु सजिलै पास हुने गरेका छन् । नेपाली चिकित्सकहरु संसारकै उत्कृष्ठ छन् भन्न चाहन्छु । अब विश्वले नेपाली चिकित्सकलाई चिनोस,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]