चार प्रतिष्ठानको उपकुलपति छनौट : अन्तर्वार्ता र प्रस्तुति पछि तीन- तीन जनाको नाम छनौट गर्ने तयारीमा समिति
काठमाडौँ, २४ साउन । कर्णाली, पोखरा, पाटन र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौटका लागि नाम सिफारिस गर्न गठित समितिले बिहीबार र शुक्रबार अल्पसूचीमा परेका २४ जनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिएको थियो ।
यद्धपी कुलपति समक्ष तीन तीन जनाको नाम सिफारिस गर्न सकेको छैन ।
‘आज जनै पूर्णिमा अनि शनिबार पनि भयो । हिजो र अस्तिको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको नम्बर ट्याली गर्ने र बैठक बसेर नाम सिफारिस काम बाँकी छ । अब छिटै त्यो बाँकी काम टुंगिन्छ र नाम सिफारिस हुन्छ,’ समितिका एक सदस्य स्वास्थ्य सचिव डा विकास देवकोटाले भने ।
समितिले गत २० साउनमा चारवटा प्रतिष्ठानका लागि ६-६ जनाको नाम अल्पसूचीमा राख्दै प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि बोलाएको थियो ।
त्यसअघि कुलपति समेत रहने प्रधानमन्त्री केपी शर्मा ओलीले गत १४ जेठमा मन्त्री पौडेलको संयोजकत्वमा तीन सदस्यीय नाम सिफारिस समिति गठन गरेका थिए । त्यसमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन् ।
सो समितिले गत ४ असारमा सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र ईच्छुक उम्मेद्धारलाई आवेदन दिन आव्हान गरेको थियो । सो अनुसार बीपीमा १३ जना, पाटनमा १० जना, पोखरामा १७ जना र कर्णालीमा १५ जना गरी ५५ जनाले आवेदन दिएका थिए ।
सम्पर्क इमेल : [email protected]