काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पुन: सञ्चालनमा

712
Shares

काठमाडौँ, १६ साउन । घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबार (आज) देखि पुनः सञ्चालनमा आएको छ । निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका पूर्व अध्यक्ष बसुरुद्धिन अन्सारी नेतृत्वको टोलीले घट्टेकुलोमा रहेको भवनबाट अस्पताल पुन सञ्चालनमा ल्याएका हुन् ।

१०० शैय्याको स्विकृति लिएर सेवा प्रारम्भ गरेको भनिएको यस अस्पतालले केही वर्ष भित्रै ३०० शैय्यामा स्तरोन्नती गरी एमबीबीएस तथा एमडी कोर्ष सञ्चालन गर्ने लक्ष्य लिएको छ । काठमाडौँ नेशनल मेडिकल कलेज आठ वर्ष अघि नै एमबीबीएस अध्यापनको लागि सम्वन्धन पाएर पुन: रोकिएको कलेज हो ।

‘त्यसबेला केही प्राविधिक समस्याहरु भए, पाइसकेको सम्वन्धन रोकियो र चलिसकेको अस्पताल बन्द भयो । त्यसपछि चिकित्सा शिक्षा आयोग बन्यो त्यसले उपत्यकाका लागि दश वर्षे बार लगाइदियो । त्यसैले हामी बीचमा हरायौँ । अब हामी नयाँ अनुभव, टिम जोश जागरसहित आएका छौँ । लामो समय अस्पताल तथा मेडिकल कलेज सञ्चालनको अनुभव छ । हामीले गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेका छौँ,’ कलेजका अध्यक्ष बसुरुद्धिन अन्सारीले भने ।

उनले अहिले ओपिडीबाट सुरु भएको अस्पतालमा विस्तारै मिर्गौला, कलेजो लगायतका प्रत्यारोपण सेवा समेत हुने दावी गरे । ‘मल्टी स्पेस्यालिटी अस्पताल बनाउने हाम्रो लक्ष्य हो । हामी यो लक्ष्यमा छिटै पुग्छौँ,’ उनले भने ।

 

प्रारम्भिक चरणमा निशुल्क ओपीडी

अस्पताल पुनः सञ्चालनको अवसरमा, काठमाडौँ नेशनल मेडिकल कलेजले प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने बताएको छ । निशुल्क सेवा अर्को सूचना जारी नहुँदासम्म निरन्तर उपलव्ध हुने समेत बताएको छ ।

‘यसका अतिरिक्त, अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ’ अस्पताल व्यवस्थापक दिलिप साहले भने ।

विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोनी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछ ।

त्यसैगरी, आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड एक्स(रे र फिजियोथेरापी सेवामा पनि छुट दिईने बताएको छ । अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ ।

कलेजका अध्यक्ष बसुरुद्धिन अन्सारी

अनुभवी टोली

त्यसो त यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन ल्याएको हो । ‘आजको दिन हाम्रो लागि अत्यन्तै महत्वपूर्ण, हर्षको र ऐतिहासिक दिन हो। केही समय स्थगनमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई हामीले आजदेखि पुनः सञ्चालन गर्न गइरहेका छौ, अन्सारीले भने ।

उनले यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मूल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु भएको बताए । ‘हामीलाई थाहा छ, स्वास्थ्य उपचार आजको समाजको आधारभूत आवश्यकता हो। हाम्रा जनतालाई सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु हाम्रो कर्तव्य मात्र होइन, हाथो प्रतिबद्धता पनि हो,’ अन्सारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *