कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण
काठमाडौँ, १६ साउन । कञ्चनपुरका तीन पालिकाका सामुदायिक विद्यालयमा कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा कक्षा कोठामै विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण हुने गरेको हो ।
बलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश जोशीले जानकारी दिए ।
“विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षणसँगै सचेतनामुलक कक्षा समेत सञ्चालन गर्दैआएका छौँ”, उनले भने, “यसका लागि एक पालिकामा एक जना स्टाफ नर्स खटिएका छन ।” उनले विद्यालयमा विद्यार्थीको प्राथमिक उपचार र स्वस्थकर खानपिन शिक्षा लगायतका विषयमा कक्षा समेत सञ्चालन हुने गरेको बताए ।
उक्त कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकामा खटिएका स्टाफ नर्स निधि धामीले कक्षा कोठामा विद्यार्थीको आखाँ जाँच, दातको परीक्षण र प्राथमिक उपचार तथा सचेतनामुलक कक्षा सञ्चालन गर्ने गरेको बताए ।
“६ महिनामा एक पटक रक्तअल्पता, ऐनिमिया र प्राथमिक उपचार गर्ने गरेको छु”, स्टाफ नर्स धामीले भने, “उपचार बाहेक विद्यार्थीलाई पोषण सम्बन्धी ज्ञान, महिनावारी, वातावरण सरसफाई, व्याक्तिगत सरसफाई, मानसिक स्वास्थ्य, लागुऔषध र यौन तथा यौनिकताबारे सचेतना कक्षा सञ्चालन हुन्छन ।” यसबाट विद्यार्थीमा सकारात्मक प्रभाव देखिएको उनले बताए ।
“विद्यार्थीले खुलेर आफ्ना समस्या राख्ने गरेका छन्”, स्टाफ नर्स धामीले भने, “प्राथमिक उपचार यहिँ हुन्छ, जाँचका क्रममा ठूलो समस्या देखिए उपचारका लागि पठाउँछौ ।”
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी जयदेव महराले उक्त कार्यक्रम अन्तर्गत प्रदेशका २८ विद्यालयमा स्टाफ नर्स खटिएका बताए ।
सम्पर्क इमेल : [email protected]