क्षयरोग परीक्षणका लागि विभागद्धारा केन्द्रलाई आठवटा एमडब्लुआरडी मेसिन हस्तान्तरण
काठमडौँ, १५ साउन । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले खकारको जाँच गरी क्षयरोग पत्ता लगाउने मेसिन मोलिक्युलर डब्लुएचओ रिकोमेन्डेड रेपिड डाग्नोस्टिक (एमडब्लुआरडी) आठ थान प्राप्त गरेको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले बुधबार स्वास्थ्य खकार जाँचको लागि आवश्यक ५ हजार थान किट सहित आठ वटा अत्याधुनिक मेसिन उपलव्ध गराएको हो ।
बुधबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजंग रायमाझीले क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीलाई मेसिन र किट हस्तान्तरण गरेका थिए ।
डा तिवारीका अनुसार एमडब्लुआरडी मेसिन जीन एक्सपर्ट मेसिनले जस्तै काम गर्ने तर अत्याधुनिक मेसिन हो । यो खकारबाट क्षयरोग पत्ता लगाउनका लागि उपयुक्त र अत्याधुनिक मेसिन मानिन्छ । विभागले ८ वटा मेसिन र ५ हजार किटको मूल्य ३ करोड ८४ लाख रुपैयाँ भएको जनाएको छ ।
केन्द्रले देशका ११८ वटा स्थानमा जीन एक्सपर्ट मेसिन राखेर क्षयरोग जाँच गर्दै आएको छ । त्यसमा प्रादेशिक अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरु छन् । अब नयाँ मेसिनहरु नयाँ ठाउँमा पठाउने योजना रहेको भन्दै अत्यधिक भार रहेका स्थानमा थपिन पनि सक्ने डा तिवारीले बताए ।
सम्पर्क इमेल : [email protected]