स्वास्थ्य बीमामा सूचीकृत अस्पतालको बक्यौँता रकम आगामी भदौ भित्र फरफारक हुन्छ : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवा उपलव्ध गराए बापत अस्पतालहरुले पाउनु पर्ने बक्यौता रकम आगामी भदौ भित्र फरफारक गरिने बताएका छन् ।
वीर अस्पतालको १३६ औँ बार्षिकोत्सब समारोहलाई सोमबार सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘ स्वास्थ्य बीमा सेवा उपलव्ध गराएका सबै अस्पतालहरुको बक्यौता रकम आगामी भदौ भित्र फरफारक हुनेछ । हामीले यसलाई व्यवस्थित गर्न चाहेका छौँ । त्यसका लागि काम पनि भईरहेको छ । अब विपन्न नागरिकले पाउने सुविधा पनि स्वास्थ्य बीमाबाट नै गर्ने व्यवस्था मिलाउँदै छौँ । कडा रोगको उपचार सहुलियत दोब्बर गरेका छौँ,’ उनले भने ।
विसं २०७२ साल देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशभर नै लागू भएको छ । तर उपचार सेवामा भने सन्तोषजनक रुपमा प्रगति हुन सकेको छैन ।
सेवा प्रदायक संस्थाहरुले बोर्ड माथि बीमितको उपचार गरे वापतको भुक्तानी हुन नसकेको भन्दै आलोचना गर्दै आएका छन् । स्वास्थ्य बीमामा सूचीकृत कतिपय सरकारी स्वास्थ्य संस्थाहरुले समेत सोधभर्ना रकम लामो समय देखि बक्यौता रहेको भन्दै बीमा कार्यक्रमलाई कहिले पूर्ण र कहिले आंशिक रुपमा सञ्चालन गर्दै आएका छन् ।
त्यसो त बोर्डले आफूसंग जनशक्ति अभावले दावी भुक्तानी विवरण समयमै रुजु गर्न नसक्दा समयमा सोधभर्ना नभएको बताउने गरेको थियो । यसपटक भने १८० जना मेडिकल अधिकृतलाई ९० दिनको कार्यदेशमा करार सेवामा राखेर दावी भुक्तानीका लागि रुजु गराउँदै छ ।
सम्पर्क इमेल : [email protected]