कोशीमा ३ हजारभन्दा बढीमा डेंगी संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, १२ साउन । कोशी प्रदेशका १४ जिल्लामै डेंगीको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

धनकुटा निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगी सङ्क्रमित छन्।

जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेंगी सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ।

हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेंगीको सङ्क्रमण देखिएको उनले जानकारी दिइन्।

उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेंगीको सङ्क्रमण ३० गुणाले बढेको पाइएको बताइन्। उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन्।

निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगीको सङ्क्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन्। “डेंगी हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो”, उनले भने, “घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ।”

असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेंगीको लक्षण रहेको उनको भनाइ छ। उनले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेंगी सङ्क्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने उनले बताइन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *