स्वास्थ्य बीमा गरेका व्यक्तिको मिर्गौला उपचार गर्नु परे साढे आठ लाखसम्म सरकारको सहुलियत
कुन - कुन अवस्थामा कति सहुलियत ?
काठमाडौँ, ९ साउन । तीन दिन अघि प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल फेसबुकबाट मिर्गौलाका बिरामीलाई साढे आठ लाख सम्म स्वास्थ्य सेवामा सहुलियत भनेर पोष्ट गरेका थिए । उनले सेयर गरेको सो पोष्टरमा सुविधा लिनका लागि स्वास्थ्य बीमा भने अनिवार्य हुनुपर्ने उल्लेख गरेका छन् ।
यस अघि यस्तै सन्देश स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि दिएका थिए । स्वास्थ्य बीमा बोर्डले नियमावलीमा भएको आठवटा कडा रोग लागेका व्यक्तिलाई थप १ लाख दिने व्यवस्थाको कार्यान्वयन गर्ने निर्णय गरेपछि मन्त्री पौडेलले सो जानकारी दिएका थिए ।
कतिपयले मन्त्री र प्रधानमन्त्रीको यो सन्देशले स्वास्थ्य बीमा गरेका सबै मिर्गौलाका बिरामीले साढे आठ लाख रुपैयाँ सम्म उपचार सहुलियत पाउने अनुमान समेत गरेका छन् । तर त्यस्तो भने होईन । मिर्गौला फेल भई प्रत्यारोपण हुने अवस्थासम्म पुग्दा उपचारमा साढे आठ लाखसम्मको सहुलियत पाउने भएको हो ।
कुन अवस्थाका बिरामीलाई उपचारमा कति सहुलियत ?
दीर्घ मिर्गौला रोग (सीकेडी)का बिरामीलाई एक लाख रुपैयाँ : स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिकका लागि आठ वटा कडा रोगका लागि एक लाख रुपैयाँसम्मको सहुलियत दिने गरेको छ । त्यसमा दीर्घ मिर्गौला रोग (सीकेडी) भएका बिरामीलाई एक लाख रुपैयाँसम्म उपचार सहुलियत यसका लागि सूचीकृत अस्पतालमा उपचार गर्दा अस्पताललाई सोधभर्ना दिईने गरिन्छ । अहिले वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, सुमेरु अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान यसका लागि सूचीकृत अस्पतालहरु हुन् ।
मिर्गौला प्रत्यारोपणका लागि ४ लाख रुपैयाँ :
यदि कोही व्यक्तिको मिर्गौला फेल भयो र प्रत्यारोपण गर्नु परेमा ४ लाख रुपैयाँ सुविधा दिने गर्दछ । तर यसका लागि बिरामीले सरकारले सूचीकृत अस्पतालमा प्रत्यारोपण गराउनु पर्दछ । यो पैसा बिरामीले पाउने होईन, प्रत्यारोपण गरेपछि अस्पतालले त्यसको सोधभर्ना माग्छ । स्वास्थ्य सेवा विभागले यसको सोधभर्ना गरिदिन्छ ।
अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला परीक्षण साथै प्रत्यारोपण पश्चातको औषधीका लागि १ लाख ५० हजार रुपैयाँ :
विपन्न नागरिक उपचार कोष निर्देशिकाले नै मिर्गौला प्रत्यारोपणका लागि अंगदाता र अगंग्रहणकर्ताको प्रयोगशाला परीक्षणका लागि ५० हजार रुपैयाँ र प्रत्यारोपण पश्चात खानु पर्ने औषधीका लागि १ लाख रुपैयाँ दिने गरेको छ । यसका लागि पनि बिरामीले सूचीकृत अस्पतालबाट सेवा लिएको हुनुपर्छ । यो रकम आर्थिक प्रशासन शाखाबाट बिलको आधारमा बिरामीले सोधभर्ना लिन सक्नेछ ।
स्वास्थ्य बीमा बोर्डबाट २ लाख रुपैयाँ :
स्वास्थ्य वीमा बोर्डले आठ वटा कडा रोग लागेको पुष्टि भएमा बिमितलाई उपचारका लागि थप एक लाख रुपैंया सम्म सहयोग गर्ने बताएको छ । ‘नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने भन्दै रकम थप गर्ने निर्णय भएको हो । यहि साउन महिना देखि यो कार्यान्वयनमा आएको छ । बीमाले १ लाख रुपैयाँसम्मको उपचार सहुलियत त दिएकै छ । त्यसमा पनि कडा रोग लागेका व्यक्तिको रोग प्रमाणित भएमा थप एक लाख रुपैयाँसम्मको पनि सहुलियत थप हुन्छ,’ स्वास्थ्य वीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले भने ।
यी सबै सुविधाहरुको योगफल तयार पार्दा ८ लाख ५० हजार रुपैयाँको सुविधा भनिएको हो । अझ यसमा मिर्गौला फेल हुँदा गरिने आजिवन निशुल्क डायलायसिस, निर्वाह भत्ता बापतको ५ हजार रुपैयाँको हिसाव गरिएको छैन । ती सुविधा समेत जोडने हो भने अहिलेको उल्लेखित सुविधामा कयौँ बढी हुन्छ ।
सम्पर्क इमेल : [email protected]