चीनले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र बनाईदिने
निजामती कर्मचारी अस्पतालको बिस्तारको सम्भाव्यता अध्ययन हुने
काठमाडौँ, ७ साउन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र बन्ने भएको छ । चीन सरकारको सहयोगमा उक्त अस्तपालमा ट्रान्सप्लान्ट केन्द्र बन्ने भएको हो ।
गत सोमबार अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्ता क्रममा सो परियोजना सम्बन्धी सम्झौता पत्र (लेटर अफ एक्सचेन्ज)मा हस्ताक्षर भएको हो ।
त्यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा चीन सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बोनम्यारो प्रत्यारोपण चिकित्साकेन्द्र परियोजना कार्यान्वयन गर्ने सम्वन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकति प्रदान गर्ने निर्णय गरेको थियो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माणसम्बन्धी परियोजनामा हस्ताक्षर भएका बेला अर्को सम्झौँता पनि भएको छ । अर्को सम्झौतामा मिनभवन काठमाडौँमा रहेको निजामती कर्मचारी अस्पताल बिस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी रहेको छ ।
दुबै सम्झौतामा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीन सरकारको तर्फबाट सिड्का अध्यक्ष चेनले हस्ताक्षर गरेका छन् ।
परियोजना अनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ हजार ८३४ वर्ग मिटर क्षेत्रमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। त्यस्तै, निजामती कर्मचारी अस्पतालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ।
यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यस्तै, नेपाल र चीनबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्र र रसुवागढी–केरुङ्ग सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धमा चर्चा गर्दै नेपाल भ्रमण गरेकामा सिड्का अध्यक्षलाई धन्यवाद दिए । उनले उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाइमा पु¥याउने विचारसमेत व्यक्त गरे ।
अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताए । उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने बताएका थिए ।
सम्पर्क इमेल : [email protected]