छ महिना देखि आईरन चक्की देशव्यापी अभाव, मन्त्रालय भन्छ: ‘अबको छ हप्ता भित्र आईसक्छ’

काठमाडौँ, ७ साउन । किशोरी गर्भवती तथा सुत्केरीलाई दिईने आईरन चक्की देशभर अभाव भएको छ महिना लाग्यो । तीन तहको सरकारबीचको अलमलले समयमै खरीद प्रक्रिया अघि नबढ्दा गत माघको अन्तिम तिरबाट निशुल्क रुपमा वितरण हुँदै आएको आइरनचक्कीको देशव्यापी रुपमा अभाव भएको हो ।
तर, पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले भने अबको छ हप्ता भित्र आईरन चक्की आउने दावी गरेको छ ।
सोमबारको पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले देशव्यापी रुपमा देखिएको अभाव हटाउन र तत्काल उपलव्ध गराउन युनिसेफसंग सम्झौँता भएको बताए ।
‘गत शुक्रबार मात्रै युनिसेफसंग सम्झौँता भएको छ । उसले छ हप्ता भित्र आईरनचक्की उपलव्ध गराउने बताएको छ । त्यसका लागि हामीले कर छुट दिनु पर्ने हुन्छ । हामीले शुक्रबार नै सो सम्वन्धी फाइल अर्थमा पठाइसकेका छौँ । काम अघि बढेको छ । अबको छ हप्ता भित्र आइरन चक्की आईसक्छ,’ सचिव डा. देवकोटाले भने ।
उनले अहिले देखिएको अभावलाई फास्ट ट्रयाकबाट सल्टाउनका लागि विभन्न एजेन्सीहरुसंग कुरा हुने क्रममा युनिसेफ अघि सरेपछि सम्झौँता प्रक्रिया अघि बढेको बताए । ‘युनिसेफले हामीले ल्याइदिन्छौँ भनेको तेस्रो दिनमै हामीले बैठक बसेर सम्झौँता गरेका हौँ,’ उनले थप स्पष्ट पारे ।
आइरन चक्कीको खरीद र बितरण पहिले पहिले संघीय तहबाट हुने गरेको भए पनि पछिल्लो दुई वर्ष देखि यसको जिम्मा प्रदेश तथा स्थानीय तहलाई दिईएको थियो । तर प्रदेश तथा स्थानीय तहले समयमै यो खरीद नगर्दा समस्या भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. बसन्त अधिकारीले काठमाडौँ सहित देशभर नै आईरन चक्की अभाव भएको बताए । उनले तीन तहका सरकारबीच भएको असमझदारीले यो अवस्थाको सिर्जना भएको दावी गरे । ‘पहिले संघबाट हुने यसको खरीद व्यवस्थापन बीचमा प्रदेश तथा स्थानीय तहले गर्ने भनिएछ । अहिले पछि पुनः संघले नै खरीद गरेर पठाईने भनिएको रहेछ । तर संघले दुई वर्ष यता खरीद गरेको छैन् । दुई वर्ष अघि गरिएको खरीदको मौज्दात अब सकियो । त्यसैले देशव्यापी रुपमा अभाव भएको हो’ उनले भने ।
सचिव डा. देवकोटाले खरीदका लागि तोकिएको मूल्यमा पटक पटक टेण्डर आव्हान गर्दा पनि प्रक्रिया अनुसार टेण्डर नपरेपछि ढिलाई भएको समेत बताए । उनले तत्कालका लागि युनिसेफले उपलव्ध गराईदिने र यता विभागबाट पनि नियमित रुपमा खरीद प्रक्रिया अघि बढाउने तयारी भएको बताए ।
सम्पर्क इमेल : [email protected]