स्वास्थ्य चौकीमा काम गर्नेलाई गर्मीमा शितल र जाडोमा घाम ताप्ने भनेपछि…..
काठमाडौँ, ५ साउन । बोलीमा चिप्लिने र चर्को बिरोध पछि सच्याउने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पुरानो बानी हो । पछिल्लो पटक उनी गैडाकोट पुगेर चिप्लिएका छन् । अब यसलाई उनले सच्याउछन् कि सच्याउँदैनन् त्यो समयले बताउँने छ ।
आइतबार नवलपुरको गैंडाकोटमा विजयविकास स्रोत केन्द्रको ४७ औँ स्थापना दिवसको अवसरमा आयोजित मधुमेह परीक्षण तथा जनचेतना शिविरको उद्घाटन गर्ने क्रममा दिएको भाषणको केही अंशले स्थानीय तहमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोवल गिरेको भन्दै विरोध सुरु भएको छ ।
बोल्ने क्रममा उनले भनेका छन्, ‘म मन्त्री नै भए पनि मैले अफ्टेरो नमानीकन भनेको छु स्वास्थ्यचौकीका कर्मचारीहरु गर्मीमा शितल ताप्ने जाडोमा घाम ताप्ने गर्नु हुन्छ । कुनै पनि स्वास्थ्य चौकीहरुमा वा आधारभूत स्वास्थ्य केन्द्रहरुमा नागरिकले खोजेको जस्तो निशुल्क स्वास्थ्य सेवा उपलव्ध भएको छैन । यो तिनवटै तहका सरकारको दायित्व हो । हामीले संवैधानिक व्यवस्था गरिसकेको स्थिति छ । संवैधानिक व्यवस्था गर्ने तर व्यवहारमा त्यसलाई लागू नगर्दा विषयान्तर हुने कुरा स्वभाविक हुन सक्दैन ।’
मन्त्रीको भिडियो क्लिप सुनेपछि स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीको अभिव्यक्तिले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको अपहेलना भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘कुनै पनि सेवाका कर्मचारीले भन्दा धेरै काम गर्ने स्वास्थ्यकर्मी हुन् । माओवादी द्धन्दका बेलामा गाउँमा कोही नबस्दा विभिन्न तनाव सहेर पनि स्वास्थ्यकर्मीहरुले सेवा दिई रहेका थिए ।’
उनले मिलेनियम डेभलपमेन्ट गोल (एमडीजी) को नजिक पुग्ने काम स्वास्थ्य कर्मचारीहरुले नै गरेका थिए भन्दै स्वास्थ्य बाहेक अरु लक्ष्यमा नेपाल धेरै पछाडी रहेको समेत दावी गरे ।
मन्त्रालयकै पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनीले पनि मन्त्रीको अभिव्यक्ति प्रति असन्तुष्ट देखिएका छन् । उनले भनेका छन् , ‘माथि तिरकालाई के भन्नु, तलतिरकालाई भन्नु परयो भन्ने भयो होला । नत्र जग बलियो नभएको भए आजको अवस्था कसरी आउथ्यो र ?’
अर्का पूर्व स्वास्थ्य प्रशासक डा गुणराज अवस्थीले मन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् । उनले भनेका छन्, ‘द्धन्दकालमा पनि गाउँमा स्वास्थ्यकर्मीहरुले मात्रै सरकारको उपस्थिति देखाएको थियो । पोलियो नियन्त्रण कसरी गरियो ? आधारभूत स्वास्थ्य सेवा घर घर सम्म पुग्न गाउँ तहमा काम गर्ने स्वास्थ्यकर्मीहरुले कति मेहनत गरे ? त्यता ध्यान नदिएर कामै गरेनन्, भन्ने भनाईले स्वास्थ्यकर्मीहरुको मनोवल घटाउनुको साथै ठूलो चोट पुगेको छ । स्वास्थ्यकर्मीहरु अभिभावक विहीन भएका छन् । यो दुखद कुरा हो ।’
मन्त्रीको अभिव्यक्ति पछि स्वास्थ्यका विभिन्न पेशागत संगठनले पनि लिखित रुपमा विरोध जनाउने तयारी गरिरहेको बुझिएको छ ।
सम्पर्क इमेल : [email protected]