नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा, साता दिनसम्म १५ प्रतिशत छुट

भक्तपुर, ४ साउन । नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल गठ्ठाघरले अत्याधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ। मंगलबार एक विशेष समारोहका बीच सेवा शुभारम्भ गरिएको हो। सेवा सुरुवातको अवसरमा अस्पतालले एक साता अवधिसम्म सबै सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट दिने घोषणा पनि गरेको छ।

उद्घाटन कार्यक्रममा मुटुरोग विशेषज्ञ डा। भगवान कोइराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, स्वास्थ्यकर्मीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

अस्पतालले ल्याएको यो अत्याधुनिक सीटी स्क्यान सेवा भक्तपुर क्षेत्रका बासिन्दाहरूका लागि विशेष राहत हुने विश्वास लिइएको छ। हृदयघात, मस्तिष्कघात, छाती, पेट, हड्डी र अन्य जटिल स्वास्थ्य समस्याको द्रुत र सटीक निदान गर्न सीटी स्क्यान सेवा महत्वपूर्ण हुने अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भने, “हाम्रो उद्देश्य अत्याधुनिक प्रविधिमा आधारित गुणस्तरीय सेवा समुदायलाई सहज र सुलभ रूपमा उपलब्ध गराउनु हो। भविष्यमा पनि हामी स्वास्थ्य सेवाको स्तर उकास्ने काममा निरन्तर क्रियाशील रहनेछौं।”

हस्पिटलका अनुसार नयाँ सेवा प्रारम्भ भएको उपलक्ष्यमा आगामी ७ दिनसम्म ९मिति २०८१ साउन ५ गतेसम्म० सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ। यसले उपचार खोज्ने धेरै बिरामीहरूलाई आर्थिक रूपमा राहत दिने अपेक्षा गरिएको छ।

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलले विगतदेखि नै गुणस्तरीय सेवा, अनुभवी चिकित्सक र आधुनिक प्रविधिको संयोजनमार्फत समुदाय केन्द्रित सेवा प्रवाह गर्दै आएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *