भारतमा कुनै पनि खोप नलिएका बालबालिकाको संख्या ४३ प्रतिशतले घट्यो
एजेन्सी । भारतमा सन् २०२३ मा कुनै पनि खोप नलिएका बच्चाहरुको संख्या १६ लाख बढी थियो । सन् २०२४ मा सो संख्यालाई घटाएर ९ लाखमा झारेको छ । यो अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले कमि हो ।
विश्व स्वास्थ्य संगठन र युनिसेफले गत मंगलबार जारी गरेको नयाँ तथ्यांकले सून्य डोज खोपका बच्चाहरुको संख्यामा सात लाख घटेको देखिएको छ ।
‘यो दक्षिण एशियाको लागि गर्वको क्षण हो । अहिले भारतमा पहिले भन्दा धेरै बालबालिकाहरु सुरक्षित छन्,’ दक्षिण एशियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले अगाडी भने ‘अब दुर्गम क्षेत्रहरुमा पुगी खोप छुटेका बालबालिकाहरुलाई पनि पहुँचमा ल्याउनु पर्दछ ।’
त्यसो त दक्षिण एशियाले क्षेत्रगत रुपमा अहिलेसम्मकै उच्चतम खोप कभरेज हासिल गरेको छ । सन् २०२४ मा ९२ प्रतिशत शिशुहरुले डिपीटी खोपको तेस्रो डोज प्राप्त गरेका थिए । यो सन् २०२३ को तुलनामा २ प्रतिशतले बढेको हो । जो कोभिड आउनु अघिको समयलाई समेत उछिनेको छ ।
भारतमा मात्रै होईन, नेपालमा पनि ठूलो सुधार आएको छ । नेपालमा कुनै पनि खोप नलागाएका बालबालिकाहरुको संख्या अघिल्लो वर्षको तुलनामा आधाले घटेको छ । पाकिस्तानले पनि अहिलेसम्मकै बढी खोप कभरेज गरेको छ । त्यहाँ ८७ प्रतिशतमा डीपीटी थ्रि कभरेज पुगेको छ । तर सार्कको कान्छो सदस्य अफगानिस्तानमा भने यस क्षेत्रकै सबैभन्दा कम कभरेज भएको छ । यसपटक गतवर्ष भन्दा पनि न्युन कभरेज भएको विवरण आएको छ ।
तथ्यांकले सार्क क्षेत्रमा दादुराको कभरेजमा पनि सुधार आएको देखाएको छ । लगभग ९३ प्रतिशत शिशुहरुले पहिलो डोज र ८८ प्रतिशतले दोस्रो डोज पाएका छन् । सन् २०२३ को तुलनामा सन् २०२४ मा दादुराको केस ३९ प्रतिशतले कमी देखिएको पनि बताइएको छ ।
यस्तै पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप (एचपीभी)को कभरेज दरमा पनि प्रगति देखिएको छ । बंगलादेशले गतवर्ष आफ्नो कायृक्रम सुरु गरे देखि ७१ लाख भन्दा बढी केटीहरुलाई खोप लगाएको छ । नेपालको त्यो भन्दा राम्रो छ ।
यस्तै भुटान, माल्दिभ्स र श्रीलंकाले पनि खोप कभरेज बृद्धि भएको रिपोर्ट पठाएका छन् । भारत र पाकिस्तानले यसवर्षको अन्त्य तिरबाट एचपीभी खोप अभियान सुरु गर्ने अनुमान गरिएको छ ।
प्रतिवेदनले सरकारको बलियो नेतृत्व, अग्रपंक्तिका स्वास्थ्यकर्मीहरुको अथक परिश्रमका कारण यी सम्भव देखिएको भन्दै तथ्यांक र प्रतिवधिको राम्रो प्रयोग भएको भन्दै प्रशंसा समेत गरेको छ ।
‘महामारी अघिको बढ्दो प्रबृत्तिलाई उछिनेर डब्लुएचओ दक्षिण एशिया क्षेत्रले अहिलेसम्मकै उच्चतम खोप दरमा पुगेको देख्नु खुशीको कुरा हो । हामीले यो गतिलाई अगाडी बढाउनु पर्छ । यी जीबन बचाउने खोपहरु प्रत्येक बच्चासम्म पुरयाउन प्रयास गर्नुपर्छ’ डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रका कार्यक्रम व्यवस्थापन निर्देशक डा थाक्साफोन थामाराङ्सीले भने ।
यद्धपी, विज्ञहरुले दक्षिण एशियामा २९ लाख भन्दा बढी बालबालिका खोपबाट बन्चित भएको वा पुरा खोप नलगाएको अवस्थामा रहेको भन्दै उनीहरुलाई घातक रोगहरु बिरुद्धको खोप लगाई पूर्ण सुरक्षित गर्न उनीहरुसम्म पुग्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]