चिकित्सा शिक्षा आयोगको २० औँ बैठक :

सीटीईभीटी अन्तर्गत रहेर प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यका २८५ शिक्षण संस्थालाई कोटा निर्धारण

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो ।

हाल उक्त आङ्गिक, गैह्रनाफमूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ ।

बैठकमा मेडिकल कलेजहरुलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानूनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो ।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिकसत्रका लागि शिक्षण शुुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ ।

कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालाई हस्तान्तरण गरेका थिए । बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिए। उनले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *