स्वास्थ्य बीमा बोर्डद्धारा उपत्यका बाहिरका १३ वटा रेफरल अस्पतालमा तत्कालका लागि प्रथम सेवा विन्दु कायम (सूची सहित)

काठमाडौँ, ३२ असार । स्वास्थ्य बीमा बोर्डले उपत्यका बाहिरका १३ वटा रेफरल अस्पताललाई प्रथम सेवा विन्दुको रुपमा समेत काम गर्न सक्ने गरी अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रलाई आधार मान्दै बोर्डले यसअघि प्रथम सेवा विन्दु हटाइएका भनिएको उपत्यका बाहिरका १३ वटा अस्पताललाई आगामी असोज मसान्तसम्मका लागि प्रथम सेवा बिन्दुको रुपमा समेत सेवा दिन पत्राचार गरेको छ ।

बोर्डले यसअघि रेफरल (ठूला) अस्पताललाई पत्र पठाउँदै १ साउन २०८२ देखि प्रथम सेवा विन्दुको काम नगर्न पत्राचार गरेको थियो । प्रथम सेवा विन्दुको रुपमा काम गरिरहेका धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, गण्डकी मेडिकल कलेज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालहरुमा अलमल थियो । स्थानीय तह र नागरिकहरुले बोर्डको चर्को विरोध गरेका थिए ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले मन्त्रालयको पत्रलाई आधार मानेर काठमाडौँ उपत्यका बाहेकका १३ वटा रेफरल अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रुपमा काम गर्न सक्ने गरी पत्राचार गरेको बताए । उनले स्थानीय तहहरुलाई सकेसम्म छिटो प्रथम सेवा विन्दुका लागि छुट्टै अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको बताए ।

यी हुन प्रथम सेवा विन्दु कायम रहने अस्पतालहरु:
१. कोशी अस्पताल
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
३. नारायणी अस्पताल बीरगञ्ज
४.गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज
५. बीपाी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर
६. भरतपुर अस्पताल
७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
८. जीपी कोइराला स्वासप्रश्सास केन्द्र तनहुँ
९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके
१०. भेरी अस्पताल नेपालगञ्ज
११ .राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
१३. डडेल्धुरा अस्पताल डडेल्धुरा

यसअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले ‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरुका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएको बताएका थिए ।

मन्त्री पौडेलले हरेक स्थानीय तहमा प्रथम सेवा बिन्दु नभएका स्थानमा स्थापना तथा भएकाको सेवा सुविधा वृद्धिका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘स्वास्थ्य बीमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तिमा एक प्रथम सेवा बिन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा बिन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ उनले भनेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुधार गर्दै नागरिकको पहुँच वृद्धिसँगै यसको दिगोपना र विस्तारका लागि हामी निरन्तर प्रयत्नशील रहेको भन्दै मन्त्री पौडेलले यस कार्यमा प्राप्त सल्लाह र सुझाव सदैव स्वागत गर्ने समेत उल्लेख गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *