‘मस्तिष्क मृत्यु पछिको अङ्ग प्रत्यारोपण कार्यक्रम’ले किन गति लिन सकेन ?

सचेतना अभिबृद्धिका लागि निरन्तर लागि रहेका छन् विज्ञ चिकित्सक

काठमाडौँ, २९ असार ।  नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकेर प्रत्यारोपण गर्न थालिएको आठ वर्ष नाघी सक्यो तर यसले अझै राम्ररी गति लिन सकेको छैन । मस्तिष्क मृत्यु, अङ्गदानका विषयमा राम्ररी बुझाउन नसक्दा यसको गति नबढेको विज्ञ चिकित्सकहरुको अनुमान छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाल कार्यालयको तथ्यांङ्क अनुसार सन् २०२३ ÷२४ मा मात्रै ३४ हजार ५२५ सडक दुर्घटना भएको थियो । त्यसमा २ हजार ३६९ जनाको मृत्यु भएको थियो । ६ हजार १६० जना गम्भीर घाईते भएका थिए । सामान्य घाइतेको संख्या २५ हजार ९९५ रहेको थियो ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण विज्ञ डा.  पुकारचन्द्र श्रेष्ठ भन्छन्,’ त्यसरी सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ५० प्रतिशतभन्दा केही बढी मस्तिष्क मृत्युबाट गुज्रिएका हुन्छन् । तर त्यसरी मस्तिष्क मृत्यु भएकाहरुको खेर जाने अङ्ग झिकेर प्रत्यारोपण गरी कसैको ज्यान बचाउने कार्यले बढावा पाईरहेको छैन ।’

मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकेर प्रत्यारोपण गर्न सकिने सम्वन्धी कानूनी व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ नेपाल सरकारले पास गरेपछि १६ मंसिर २०७३ मा राजपत्रमा प्रकाशित भएको थियो । त्यसको झण्डै साढे ५ महिना पछि २८ वैशाख २०७४ का दिन नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला झिकेर २ जना व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । तर, त्यस यताको यो अवधीसम्म आईपुग्दा मस्तिष्क मृत्यु भएका ६ जना व्यक्तिको मात्रै अहिलेसम्म अङ्ग झिकी प्रत्यारोपण गरिएको छ । त्यसबाट १२ जनामा मिर्गौला र तीन जनामा कलेजो प्रत्यारोपण भएको छ ।

अङ्गदान सम्वन्धी अन्तक्र्रिया निरन्तर


मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यारोपण गर्न पाए, आफन्तको अङ्ग नमिलेर वा नपाएर बसेका हजारौँ बिरामीहरुलाई ठूलो राहत हुन्थ्यो । तर विभिन्न कारण तथा परिस्थितिले अङ्ग उपलव्ध हुन सकेको छैन । ‘यो अवधीमा १७० जनाले फोन त गर्नु भयो तर हामीले अङ्ग झिक्न सफल भएको भनेको ६ जना मात्रै हो’ शनिबार केन्द्रको आयोजनामा भएको मस्तिष्क मृत्यु पछि हुने अङ्गदान र प्रत्यारोपण सम्वन्धी कार्यक्रममा कार्यकारी निर्देशक समेत रहेका डा.  श्रेष्ठले भने । उनले यसो हुनुमा परिवारसंगै अस्पताल, चिकित्सकको र काउन्सिलरको पनि कमि कमजोरी रहेको हुनसक्ने बताए । ‘त्यसैले केन्द्रले अहिले विज्ञ चिकित्सक, अस्पतालका चिकित्सक नर्ससंग मात्रै होईन आम जनतालाई सूसुचीत गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमसंग छलफल गरी यी कुराहरु उठाई रहेका हुन्छौँ,’ उनले थपे ।

शनिबारको कार्यक्रममा बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले मस्तिष्क मृत्यु घोषणा गर्ने कानून निर्माण र त्यसपछिका अवस्थाका बारेमा प्रस्तुति दिएका थिए । उनले यसका लागि आम नागरिकलाई जागरुक बनाउनु आवश्यक रहेको भन्दै त्यसका उपायको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘समाजका अगुवा, धर्मगुरुहरु, लोकप्रिय व्यक्तहरुले यसबारेमा सकारात्मक सन्देश फैलाउनु पर्छ । त्यसो हुन सकेमा समाजले सहजै बुझ्न सक्छ,’उनले भने ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रकै डा कल्पनाकुमारी श्रेष्ठले मस्तिष्क मृत्यु पछि अङ्गदान गर्ने व्यक्तिका अफ्टेरा, आफन्तजन गुमाईरहेको बेलाको परिवेशका कारण पनि अङ्गदानका लागि तत्कालै उत्प्रेरित गर्न व्यवहारिक कठिनाई भएको बताईन् । उनले त्यसैले सरकारले जनचेतना अभिबृद्धि गर्न तथा केही कानूनीगत व्यवस्था गर्न समेत सक्नुपर्ने बताईन् ।

कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा रवि शाक्य लगायतले मस्तिष्क मृत्युपछिको अङ्ग प्रत्यारोपणको विषयलाई जोडेर प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले मस्तिष्क मृत्युपछिको अङ्ग प्रत्यारोपणका लागि सचेतना, कानूनी व्यवस्था, व्यवहारिक पक्षलाई ध्यान दिएर अघि बढ्न सुझाव दिएका थिए ।
त्यसो त सरकारले अहिले पनि मस्तिष्क मृत्यु पछि अङ्गदानका लागि सघाउने परिवार तथा अस्पतालका लागि समान्य खर्च दिने व्यवस्था गरेको छ ।

जस अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवारले यदि अङ्ग प्रत्यारोपणका लागि दान दिने भएमा उनीहरुलाई दुई लाख रुपैयाँ र खबर गर्ने तथा अन्य सहयोग गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ दिईने गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *