प्रधानमन्त्री ओलीले गरे भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् ।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नाम सहित अस्पताल भवनको शनिवार विधिवत् उद्घाटन गरिएको हो ।

नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभूत अस्पताल १० शय्याको रहेको छ । अस्पतालले दैनिक चार सय बिरामीलाई सेवा दिनेछ ।

प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे ।

उनले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘परोपकारी कार्य गर्नुपर्छ। यस कार्यबाट अरूले पनि परोपकारी कार्य सिक्नुपर्छ, अनुशरण गर्नुपर्छ। मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरू स्मरण गर्ने हो। अहिले भन्दा १०२ वर्षअघि जन्मिनुभएकी भागिरथा न्यौपानको नाममा अहिले हामी अस्पतालको नामकरण गर्दैछौँ।’

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ। अस्पतालले बीमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *