‘अमेरिकी सहायता कटौतीकै कारणले पाँच वर्ष भित्र विश्वभर १ करोड ४० लाख बढीको मृत्यु हुनसक्ने’
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको मानवीय सहायतका लागि परिचालिन अमेरिकी कोष कटौती गर्ने कदमले सन् २०३० सम्ममा १ करोड ४० लाख भन्दा बढी मृत्यु निम्त्याउन सक्ने एक अनुसन्धानले देखाएको छ ।
‘द ल्यान्सेट मेडिकल जर्नल’मा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार मृत्युको जोखिममा पर्नेमध्ये एक तिहाई बालबालिका हुनेछन् ।
गत मार्चमा अमेरिकी विदेश मन्त्री मार्को रुवियोले अमेरिकी अन्तराष्ट्रिय विकास एजेन्सी (युएसएआईडी)का कुल कार्यक्रममध्ये ८० प्रतिशत भन्दा बढी रद्ध भएको बताएका थिए । ट्रम्प प्रशासनले यसलाई व्यर्थ खर्चको रुपमा हेर्ने गरेको छ ।
ट्रम्प प्रशासनलाई सघाउन महत्वपूर्ण जिम्मेवारीमा नियुक्त भएका अर्वपती एलन मस्कद्धारा निरीक्षण गरि कटौती गर्ने निर्णय गरिएको सो कदमलाई विश्वभरका मानवीय सहायता एजेन्सीहरुले निन्दा गरिरहेका छन् ।
प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् कि युएसएआईडी कोषले सन् २००१ देखि २०२१ सम्ममा विकासशील देशहरुमा ९ करोड भन्दा बढी मृत्युलाई रोकेको थियो ।
तर अमेरिकाले पछिल्लो कदमलाई जारी राखेमा २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी टार्न सकिने मृत्युको आश्चर्यजनक संख्या निम्त्याउन सक्ने उल्लेख छ । त्यसमा ५ वर्ष मुनिका ४५ लाख बढी बालबालिकाहरु पर्ने छन् ।
विश्वको सबैभन्दा ठूलो मानवीय सेवा प्रदायक देशको रुपमा चिनिएको अमेरिकाले ६० भन्दा बढी देशहरुमा आफ्ना सहायता कार्यक्रम ठेकेदारहरुमार्फत सञ्चालन गरेको थियो ।
सरकारी तथ्यांक अनुसार सन् २०२३ मा मात्रै अमेरिकाले अन्तराष्ट्रिय सहायतामा ६८ अर्ब डलर खर्च गरेको थियो ।
युएसएआईडीलाई विश्वव्यापी सहायता प्रणालीको अभिन्न अंगको रुपमा हेरिएको थियो । ट्रम्पको सहायता रोक्ने घोषणा पछि बेलायत, फ्रान्स र जर्मनी जस्ता सहयतामा सहयोग गर्ने देशहरुले समेत सहयोग रोक्ने निर्णय गरेका छन् ।
सम्पर्क इमेल : [email protected]