सोमबार आकस्मिक बाहेकको सेवामा नजाने, मंगलबार लाइसेन्स फिर्ता गर्ने चिकित्सक संघको घोषणा
काठमाडौँ, २० असार । उपभोक्ता अदालतबाट केही मुद्धाहरुमा अस्पताल तथा चिकित्सकलाई दोशी करार गर्दै क्षतिपूर्ति भराउने आदेश जारी भएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । उसले धर्ना, आकस्मिक बाहेकका उपचार सेवा वन्द र चिकित्सक लाइसेन्स नै फिर्ता गर्ने सम्मको विरोधको कार्यक्रम अघि सारेको छ ।
आज (शुक्रबार) बसेको संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले विरोधका कार्यक्रमहरु अघि सारेको संघका महासचिव डा सञ्जीव तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जस अनुसार शुक्रबार (आज) संघका शाखा कार्यालयहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, २२ असार आईतबार सम्पूर्ण चिकित्सकहरुद्धारा आ -आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने, सोमबार २३ असारका दिन देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
संघका सम्पूर्ण शाखा कार्यालयहरुद्धा यस सम्दर्भमा चिकित्सकहरुको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी सोमबार नै केन्द्रीय कार्यालयमा पठाउने समेत निर्णय गरेको छ ।
यस्तै २४ असार मंगलबारका दिन सम्पूर्ण चिकित्सकहरुको लाइसेन्स (दर्ता प्रमाणपत्र) काउन्सिलमै बुझाउने योजना रहेको महासचिव डा तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
उनले संघले नेतृत्व गरेको यो आन्दोलमा निजी मेडिकल कलेज तथा डैन्टल कलेज संघ, अस्पताल संचालकहरुको संस्था अफिन, औषधी उत्पादक हरुको संस्था एपोन, मेडिकल उपकरण व्यवसायीहरुको संस्था केमसान, नेपाल नर्सिङ संघ, फार्मेसी एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटनरी एसोसिएसन लगायतका संस्थाको एकेवद्धता रहेको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]