नेपालमा क्षयरोग : बार्षिक ६८ हजार नयाँ बिरामी थपिन्छन्, १६ हजार बढीको हुन्छ मृत्यु

क्षयरोगको अवस्थाको समीक्षा गर्न देशभरबाट भेला भए सरोकारवाला पक्ष

काठमाडौँ, १७ असार । क्षयरोग सम्बन्धि विश्वव्यापी प्रतिवेदनले नेपालमा हरेक वर्ष करिव ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने अनुमान गरेको छ । तर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गतवर्ष ४० हजार ७७६ जना क्षयरोगका बिरामी भेटिएको उल्लेख गरेको छ ।

विश्वव्यायी रुपमा गरिएको अनुमान देशमा भेटिएको संख्याबीचको अन्तरले पनि क्षयरोग नियन्त्रणका लक्ष्य भेटिन मुस्किल भईरहेको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामा आज देखि काठमाडौँमा सुरु भएको क्षयरोग कार्यक्रमको बार्षिक समीक्षामा सम्वन्धी दुई दिने गोष्ठीमा समस्या खोतल्ने र समाधानको उपाय निकाल्ने प्रयास भईरहेको छ ।

‘क्षयरोग नियन्त्रणका लागि तय गरिएको लक्ष्य भेटाउनका लागि के कस्तो रणनीति अघि बढाउने, अनुमानित संख्या र भेटिएको संख्याबीचको अन्तर कम गर्न के कस्ता कार्यक्रम अघि सार्ने लगायतका विषयमा छलफल भएको छ । विगतमा के अवस्था थियो ? के भयो ? अहिले के अवस्था छ भविस्यमा कस्तो हुने छ ? सरकारको नीति कस्तो छ ? कसरी सफलता हासिल गर्न सकिन्छ ? यस्ता विषयमा छलफल केन्द्रीत छ,’ केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले भने ।

 

हुन् पनि केन्द्रले पत्ता लगाएका बिरामीहरूको सङ्ख्या र अनुमानित सङ्ख्याबीच अझै पनि ठूलो अन्तर रहेको देखिन्छ । गत वर्ष (२०८०/८१) मा ४०,७७६ क्षयरोगका केसहरू पत्ता लागेका थिए, जसमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र १४ वर्ष मुनिका बालबालिका ८.६ प्रतिशत थिए ।

गएको वैशाखसम्म (१० महिनामा)मा २९,८७७ नयाँ केसहरू पत्ता लागेको पनि डा. तिवारीले जानकारी दिए । उनका अनुसार क्षयरोगका जोखिम कारकहरूमा धूम्रपान, कुपोषण, मधुमेह, मदिराको प्रयोग र एचआईभी मुख्य रूपमा देखिएको छ ।

समीक्षा कार्यक्रममा डा तिवारीले बार्षिक १६ हजार बढीले क्षयरोगबाट ज्यान गुमाउने गरेको भन्दै यसलाई नियन्त्रण गर्नका लागि राष्ट्रिय रणनीतिक योजना बनाउन परेको बताए । उनले राष्ट्रिय रणनीतिक योजनाको मुख्य लक्ष्य ुक्षयरोग मुक्त नेपालु को परिकल्पना गर्नु रहेको जानकारी दिदै यसअन्तर्गत सन् २०३५ सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र सन् २०५० सम्ममा यसलाई पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य राखिएको बताए ।

सन् २०२६ सम्ममा क्षयरोगको घटना दर प्रति १ लाख जनसङ्ख्यामा २३८ बाट १८१ मा र मृत्यु दर ५८ बाट २३ मा झार्ने लक्ष्य छ । यद्यपि, हालको प्रगति हेर्दा हामी यी लक्ष्यहरूभन्दा केही पछाडि नै रहेको देखिन्छ उनले भने ।

‘समीक्षा गोष्ठीमा सातै प्रदेशका निर्देशनालयबाट स्वास्थ्य निर्देशकहरु, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुखहरु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुखहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु समेतको सहभागिता छ । त्यहाँ सातै प्रदेशले गतवर्ष गरेका काम मुख्य उपलव्धी प्रस्तुति दिने छन् । त्यसमा राम्रो गरेको प्रदेशको कामलाई अन्य प्रदेशले अनुसरण गर्न मिल्ने र राम्रो काम हुन नसकेकोृ प्रदेशलाई सल्लाह सुझाव दिन सकिने भएकोले पनि यो कार्यक्रम धेरै नै महत्वपूर्ण छ,’ डा तिवारीले भने ।

योजना अनुसारको काम भएको छ छैन राम्ररी समीक्षा गर्नुहोला: स्वास्थ्य सचिव डा देवकोटा
यसैबीच समीक्षा गोष्ठीको उद्घाटन गर्न पुगेका स्वास्थ्य सचिव डा विकास देवकोटाले क्षयरोग नियन्त्रण गर्ने लक्ष्यमा हामी कहाँ छौँ ? कस्तो अवस्थामा छौँ ? लक्ष्य प्राप्तिमा के कस्ता कठिनाईहरु छन् यी विषयमा समीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

उनले क्षयरोगमा १ अर्व बढी बजेट रहेको भन्दै अभावै चै नहुने बताए । ग्लोबल फण्डले रकम कटौती गर्दै गए पनि नेपाल सरकारले बजेट बढाउँदै गएको भन्दै योजना बनाएर नयाँ नयाँ काम गर्नु पर्नेमा जोड दिए । उनले काममा अलि इफोर्ट देखाउन समेत अनुरोध गरे ।

पूर्व स्वास्थ्य सचिव डा दीर्घसिंह बमले नेपालले क्षयरोग नियन्त्रण सम्वन्धी काम सुरु गर्दाका दुख तथा अनुभवहरु बताए । डट्स कार्यक्रम सुरु गर्दा होस् या ठिमीमा कार्यलय खोल्न खोज्दा भएका कठिनाई सम्झिदै अहिले क्षयरोग नियन्त्रणमा धेरै राम्रा कामहरु भईरहेको बताए ।

कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले नेपालीहरु काम भन्दा कुरा बढी गर्ने प्रबृतिका रहेका भन्दै अब कुरा भन्दा काममा केन्द्रीत हुनु पर्ने बताए । उनले आफ्नो नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने गरी अभियान सञ्चालन गरिएको बताए ।

त्यसअघि क्षयरोग केन्द्रका डा नविनप्रकाश साह, वीरबहादुर रावल लगायतले क्षयरोगको अवस्था, केन्द्रले गरेका कामका विषयमा बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *