स्वस्थ शिशु प्रतिस्पर्धा गर्दै प्रसूतिगृह अस्पताल, बुधबारबाट आवेदन दिन सकिने
काठमाडौँ, १० असार । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले अघिल्ला वर्ष जस्तै यस वर्ष पनि स्वस्थ शिुशु प्रतिस्पर्धा गर्ने भएको छ ।
अस्पतालले आगामी १४ साउनका दिन सो प्रतिस्पर्धा गर्ने भएको हो । यद्धपी विजेताको पुरस्कार भने ३१ साउनका दिन मनाईने अस्पतालको बार्षिकोत्सव समारोहमा वितरण गरिने छ ।
अस्पतालले आज सो बारेमा सार्वजनिक सूचना जारी गर्दै ईच्छुक अभिभावकले आवेदन दिन सक्ने जनाएको छ ।
कसरी हुन्छ प्रतिस्पर्धा ?
अस्पतालले जन्मेदेखि एक वर्षसम्मका शिशुहरुबीच प्रतिस्पर्धा गराउँछ । तर प्रतिस्पर्धामा सहभागी हुने शिशुहरु सोही अस्पतालमा जन्मेको हुनुपर्नेछ । अनि प्रतिस्पर्धामा जन्मेदेखिक ४५ दिनसम्मका शिशुलाई ग्रुप ए, ४६ दिन देखि ६ महिनासम्मको शिशुलाई ग्रुप बी र ६ महिना देखि १ वर्षसम्मको शिशुलाई ग्रुप सीमा विभाजन गरि प्रतिस्पर्धा गराईने छ ।
अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले शिशुहरुको पोषण, शारीरिक तथा मानसिक विकास क्रम लगायतका स्वस्थ मानिने इन्डिकेटरहरुको जाँच गरिने बताए ।
‘आम अभिभावकलाई शिशुहरु विकास क्रम कस्तो हुनु पर्छ ? कुन उमेरमा कति तौल हुनुपर्छ ? शारीरिक साथै मानसिक विकास कस्तो हुनुपर्छ ? भनेर बुझाउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो,’उनले भने ।
प्रतिस्पर्धा गराउन ईच्छुक अभिभावकले १०० रुपैयाँको फारम भर्न पर्ने त्यो फारम बुधबार (भोली) देखि ८ साउनसम्म भर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालले आयोजना गरेको यो ६१ औँ स्वस्थ शिशु प्रदर्शनी हो ।
सम्पर्क इमेल : [email protected]