थपिन लागेको दरबन्दीमा डेन्टल विषयका दरबन्दी नपरेपछि एसोसिएसनको आपत्ति

काठमाडौँ, ४ असार । नेपाल डेन्टल एसोसिएसनले सरकारले पछिल्लो पटक सार्वजनिक गरेको स्वास्थ्यका थप दरबन्दीमा चारवटा विषय नपरेको भन्दै आपत्ति जनाएको छ ।

एसोसिएसनले थप दरबन्दीमा समेत ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स र पब्लिक हेल्थ डेन्टिस्ट्री विषय नसमेटिएको भन्दै आपत्ति जनाएको हो ।

यस्तै एसोसिएसनले डेन्टल सर्जनको समेत दरबन्दी न्युन बृद्धि गरिएको भन्दै असन्तुष्टी जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थपिन लागेको दरबन्दीको विवरण सामाजिक सञ्जालमा आएपछि एसोसिएसनले आफ्नो ध्यानाकर्षण भएको भन्दै आजै स्वास्थ्य सचिव डा विकास देवकोटालाई भेटेर ज्ञापन पत्र समेत बुझाएको छ । एसोसिएसनका महासचिव डा प्रदीप भण्डारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बुझाएको ध्यानाकर्षण पत्रमा दन्त स्वास्थ्य दरबन्दी तालिकालाई सच्याई पुन दन्त चिकित्सकको सबै विषय समावेश गर्न माग गरिएको छ ।

एसोसिएसनका सदस्य डा भुमेश काफ्ले भन्छन्, ‘हिजो सार्वजनिक भएको ओएन्डएम रिपोर्टमा एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ। यसपटक पनि डेन्टल तर्फका विशेषज्ञ विषयहरू जस्तै ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स र पब्लिक हेल्थ डेन्टिस्ट्रि परेन । यी विषयमा अहिलेसम्म एउटा पनि दरबन्दी खोलिएको छैन। डेन्टल सर्जनमा पनि अत्यन्त न्युन दरबन्दी राखिएको छ । यो एकदमै दुखद कुरा हो,’ उनले भने ।

एसोसिएसनले नेपालमै जनशक्ति पर्याप्त मात्रामा भएको र आम जनतालाई यी विषयको सेवा आवश्यक हुँदा हुँदै पनि नसमेटिएको र दरबन्दी तयार गर्ने बेलामा समेत आफूहरुसंग कुनै छलफल समेत नगरिएको भन्दै आपत्ति जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *