आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरीय डिजिटल तालीम अब नेपालमै सञ्चालनमा आउने
काठमाडौँ, २७ जेठ । नेपाल नेत्रज्योति संघ र अर्विस ईन्टरनेशनलबीच नेपालमा आँखा उपचार सम्बन्धी डिजिटल तालीम हबका रुपमा विकास गर्ने परियोजना सञ्चालनका लागि सम्झौता भएको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा आवस्यक पर्ने क्लिनिकल, पारामेडिक्स, ब्यवस्थापन तथा प्रशासनिक कर्मचारीहारुलाई तालीम दिई दक्ष जनशक्ति को रुपमा बिकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र बिदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालीम संचालनका लागि यो परियोजना संचालन गरिएको हो । भविश्यमा आवस्यकता अनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम सञ्चालन गरिनेछ ।
‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगती विश्वमै उदाहरणीय छ, अब विश्व स्तरमै सञ्चालन हुने क्षमता अभिवृद्धि तालीमहरु नेपालमै सञ्चालनका लागि नेत्रज्योति संघ संगको सहकार्यमा यो परियोजना सञ्चालन हुनेछ’ अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाईरेक्टर डा.ऋषिराज बोराहले भने ।
यो परियोजना अन्तर्गतको तालिममा सहभागी हुने सहभागिहरुले भौतिक रुपमा आफैँ उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतिबिन्दुको, ऐन्टेरियर सेगमेन्ट,भिट्रियो रेटिना,जलबिन्दु,अप्ट्रोमेट्री साईन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालीम,वेट ल्याब व्यबस्थाप तालिम लगायतका अप्थाल्मीक बिधाहरुमा तालीममा सहभागी हुन सक्नेछन् । जसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल किट्जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग समेत हुनेछ ।
अर्विसको साईबर साईट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमित रुपमा संचालन गरिनेछ ।
त्यस्तै यो परियोजना अन्तर्गत सञ्चालन हुने तालीममा नेपालमा रहेका सम्पूर्ण आँखा अस्पतालहरु, मेडिकल कलेज, निजी आँखा अस्पतालहरु, स्वास्थ सेवा प्रतिष्ठानहरु, सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरुका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाहरुका जनशक्तिहरु समेत सहभागि हुन सक्नेछन् ।
उक्त तालीमहरुको सहजिकरण विश्वस्तरमै सम्बन्धीत विषयमा ख्याति प्राप्त विषय बिज्ञहरुद्धारा गराइनेछ ।
संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार परियोजना सञ्चालनका लागि हाललाई बिराटनगर आँखा अस्पतालमा तालिम संचालनका लागि आवश्यक सिमुलेटर,वेट ल्याब र रिमोट सर्जिकल किट लगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई संचालन भएको छ । यसपछि भैरहवाको रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ ।
यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचार पछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगाा साबित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले नेपालमै पहिलो पटक यो परियोजना मार्फत यस प्रकार को विश्वस्तरिय तालीम सञ्चालन गरिने बताए ।
संघका कार्यक्रम व्वस्थापक रन्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तीहरुलाई लक्षित गरी तालीम सञ्चालन हुने छ भने अर्को वर्षबाट देश बाहिरको जन शक्तिहरुको लागि समेत खुला गरिने छ । यो परियोजना अन्तर्गत संचालन गरिने तालिमहरु प्रकृति हेरी १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
सम्पर्क इमेल : [email protected]