आचार्य नेतृत्वको कार्यदलको प्रतिवेदन : स्वास्थ्यमा दुई हजार १०२ जना दरबन्दी थप्न सकिन्छ
काठमाडौँ, २७ जेठ । स्वास्थ्यमा दरबन्दी थप गर्ने कुरा हुन थालेको धेरै बर्ष भयो यद्धपी त्यसको कार्यान्वयनकका लागि प्रयास अघि बढेको थिएन । यसपटक भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दरबन्दी थप्ने प्रयास गरेका छन् ।
स्वास्थ्यको प्रस्तावमा गत १५ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिने निर्णय गरेको थियो ।
सोही अनुसार मन्त्रालयले प्रशासन सहसचिव ऋषिराज आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरेको थियो ।
सो कार्यदललले सोमबार मन्त्री पौडेललाई दुई हजार १०२ जना जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ ।
मन्त्रालयका अनुसार पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा सात सय ७७ जनशक्ति थप्नु पर्ने उल्लेख छ ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा ९० जना जनशक्ति थप्न भनिएको छ । प्रतिवेदनमा कान्ति बाल अस्पतालमा ७८ जना जनशक्ति थप्न प्रस्ताव गरिएको छ । यसैगरी परोपकार प्रसुती स्त्री रोग अस्पतालमा १७३ जना जनशक्ति थप हुनेछन् ।
प्रतिवेदनमा शुक्रराज ट्रक्रिकल तथा सरुवा रोग अस्पतालमा ३१७ जना, कोशी अस्पतालमा १७२ जना, नारायणी अस्पतालमा ३१८ जना र भेरी अस्पतालमा १७९ जना जनशक्ति थप्ने प्रस्ताव गरिएको छ ।
यसैगरी गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा १४४ जना, चितवनको भरतपुर अस्पतालमा ४६५ जना जनशक्ति थप्न प्रस्ताव गरिएको छ । यस्तै सुदुरपश्चिमको डडेलधुरा अस्पतालमा ५२ जना थप गर्ने गरी प्रस्ताव गरिएको छ ।
कार्यदलले दिएको प्रतिवेदनमा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना तयार पारिएको छ ।
सोमबार प्रतिवेदन बुझ्दै स्वास्थ्य मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरुमा चाप अत्यधिक भए पनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा दिन भैरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे ।
सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु, उनले भने, सम्बद्ध मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ ।
मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रुपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे । उनले अधिकतम स्वास्थ्य प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्ने गरी संरचना गर्न भने पछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य जनशक्ति थप गर्ने गरी प्रतिवेदन तयार पारिएको बताए ।
उनले दरबन्दी थपिदा विभिन्न अस्पतालहरुमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने बताए ।
विसं २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन ।
सम्पर्क इमेल : [email protected]